हेटौँडा सडक विस्तार : अवरोध गर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौं । हेटौँडा बजारमा मुख्य सडक विस्तारमा केही व्यक्तिले अवराेध गरेपछि उनीहरूलाई कारबाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले एक सूचना जारी गर्दै हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्याउने र व्यवसायीलाई धम्की दिने समूहलाई कारबाहीको दायरा ल्याउने जानकारी दिएका हुन् ।

सडक डिभिजन कार्यालय, हेटौँडाले मंसिर ५ गते सूचना प्रकाशित गर्दै १५ दिन भित्रमा हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँबायाँ २५/२५ गजभित्रका संरचना हटाउन भनेको छ ।

अहिले केही स्थानीय/व्यवसायीले  अवैध संरचना आफैं हटाइरहेका छन् । तर, केही व्यक्तिहरूले स्थानीयकाे यस कार्यलाई निरुत्साहित गर्न धाकधम्की दिने, जबर्जस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कार्यमा अवरोध र्पुयाउने गतिविधि गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको प्रजिअ अधिकारीको सूचनामा उल्लेख छ ।

हटाउन बाँकी संरचनामा डिभिजनले मंसिर २० गतेदेखि डोजर चलाएर भत्काउने तयारी गरेको छ । सोही क्रममा कसैले अवरोध गरेमा पनि कारबाही गर्ने प्रशासनले चेतावनी दिएको हो ।

सडक विस्तारमा अवरोध खडा गर्ने उद्देश्यले प्रेरित कुनै पनि गतिविधि गर्ने व्यक्तिहरूप्रति पूर्ण सचेत रहेको उल्लेख गर्दै प्रजिअ अधिकारीले सडक डिभिजन कार्यालयको यस अभियानमा कानुनविपरीत कार्य नगर्न/नगराउन अनुरोध गरेका छन् ।

सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार सडक विस्तारको क्रममा दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी कुल ५३१ घरटहरा तथा संरचना हटाउनु पर्नेछ । पहिलो चरणमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेदेखि हेटौँडा बुद्ध चौक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथअन्तर्गत बुद्ध चौकदेखि सामरी पुलससम्मको सडक सीमा खाली गरिने जिल्ला प्रशासनले जनाएको छ ।


Back_to_top