काठमाडौं । पछिल्लो समय नेपालमा धार्मिक पर्यटन फस्टाउँदै गएको छ । आममानिसमा एकैपटक देवीदेवताको मन्दिर दर्शन गर्ने र ठाउँ पनि घुम्ने ट्रेन्ड बढ्दै जाँदा धार्मिक गन्तव्यहरूमा पर्यटक भीड बढ्दो क्रममा रहेको हो ।
अहिले चाहे नेपाल भित्रैकै हुन्, वा विदेशका धार्मिक स्थलहरूमा जानेको संख्या बाक्लो देखिन्छ । त्यसैलाई मध्यनजर गर्दै ट्राभल एजेन्सीहरूले पनि आकर्षक ‘तिर्थ यात्रा टुर प्याकेज’ ल्याइरहेका छन् । ट्राभलहरूले नेपालदेखि भारतका विभिन्न मठ मन्दिरमा दर्शन गर्न जानेका लागि विभिन्न प्याकेज उपलब्ध गराएका छन् ।
अहिले नेपाल भित्रका कालिञ्चोक, गोसाइँकुण्ड, मनकामना, मुक्तिनाथ, पाथीभर, हलेसी, स्वर्गद्धारी लगायत धामिर्क गन्तव्यका प्याकेजहरू किन्न पाइन्छ । यस्तो धार्मिक यात्रामा सबैभन्दा नजिक रहेको मनकामना गएर आउन २ हजारदेखि २२०० रुपैयाँ तिर्नु पर्ने ट्राभलहरूको भनाइ छ ।
‘हामीले तिर्थ यात्राको लागि जानेहरूको लागि मात्रै काम गर्दै आएका छौं । मनकामना दर्शन गराउने प्याकेज विगत १५÷१६ वर्षदेखि निरन्तर चल्दै आएको छ । बिहान गएर बेलुका आउन सकिने मनकामना दर्शनमा जाने प्रतिव्यक्ति २ हजार रुपैयाँ लिन्छौं । त्यसमा आवतजावत र केबल कारको टिकट हामीले दिने हो’, मुक्तिनाथ चारधाम तिर्थ यात्रा ट्राभलका संचालक श्रीराम खनालले बताए ।
खनालका अनुसार नेपालकै तिर्थयात्रामा जानको लागि अलि टाढाको स्थान छ भने दैनिक २ हजारदेखि २ हजार २०० सम्मको प्याकेज पाउन सकिन्छ । उक्त प्याकेजमा खाना र यातायातको खर्च जोडिएको हुन्छ । बस्ने व्यवस्था पनि चहिँदा भने दैनिक ३ हजार तिर्नुपर्छ । मुक्तिनाथ लगायतका देश भित्रका धार्मिक यात्रामा जानेले स्कर्पियो लगायतका गाडी भाडामा चाहिँदा पनि मुक्तिनाथ चारधाम तिर्थयात्रा गराउने ट्राभलबाट लिन सक्छन् ।
‘तिर्थ यात्रामा जाँदा हामीले नै क्याटरिङ सेवा दिन्छौं । शुद्ध शाकाहारी खाना, त्यो पनि आफ्नै आँखा अगाडि पकाएर दिन्छौं । हाम्रो सेवालाई अहिलेसम्म सबैले उत्कृष्ट मानिदिनु भएको छ’, खनालले भने ।
नेपाल बाहिर भारतका विभिन्न स्थानमा ट्राभलहरूले धार्मिक प्याकेजहरू दिइरहेका छन् । विशेषगरी जगन्नाथपुरी, रामेश्वरम, द्धारकाधीस, बद्रीनाथ, केदारनाथ, गया, कामरु कामख्या, परशुराम कुण्ड, वैष्णोदेवी, अमरनाथ, ज्वालादेवी, गंगासागर, सिरडि साइबाबा, स्वर्णमन्दिर लगायतका धामहरू दर्शन गर्न प्याकेज उपलब्ध गराउँदै आएका छन् ।
भारतको यात्रा पनि दैनिक दुई हजार
भारतको तिर्थ यात्रामा जाँदा पनि प्रतिव्यक्ति २ हजार रुपैयाँ दैनिक खर्च लाग्छ । त्यहाँ जाँदा अतिरिक्त खर्च भने यात्रु आफैँले व्योहोर्नु पर्ने ट्राभलहरू बताउँछन् । उनीहरूका अनुसार बस्ने होटलको खर्च आफैँ गर्नुपर्छ । साथै, सहरहरू घुम्दा रिक्साहरूको प्रयोग भएको खण्डमा पनि पैसा खर्च हुन्छ ।
‘हामीले शुद्ध शाकाहारी खाना दिन्छौं । त्यसमा लसुन, प्याजहरूको पनि प्रयोग हुँदैन । गाडी मात्रै भाडामा लिएर अरु सबै आफैँ गर्छौ भन्नेलाई पनि सेवा दिँदै आएका छौं’, उग्रचण्डी भेहिकल सर्भिसका संचालक अशोक मरहठ्ठाले मेरोअटोसँग भने ।
यात्रुले दैनिक ३ हजार तिर्दा होटल सुविधा दिने बताउँदै मरहठ्ठा भन्छन्, ‘होटलको व्यवस्था पनि ट्राभलले नै गर्नेछन् । त्यसको अलगै पैसा तिर्नुपर्छ । भारतमा मन्दिर होटलहरू लामो दुरीमा हुन्छन् । ती होटलसँग हामीले समन्वय गरेर यात्रु लाने गरेका छौं ।’
अहिले प्रत्येक वर्ष १५ हजार हाराहारीले ट्राभल मार्फत धार्मिक यात्रा गर्ने गरेको बताउँदै मुक्तिनाथ चारधाम तिर्थ यात्रा ट्राभलका संचालक श्रीराम खनाल भन्छन्, ‘टुरिजम बोर्ड लगायत सरकारका सरोकारवाला निकायले ध्यान दिने हो भने भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने पर्यटकको संख्या निकै ठूलो हुन्थ्यो । त्यसमा काम नै हुन सकेको छैन ।’

