डोङफेङले हुवावेसँग मिलेर ल्यायो नयाँ ब्राण्ड

काठमाडौं । चिनियाँ मोटर उत्पादक डोङफेङले टेक जाइन्ट हुवावेसँग मिलेर नयाँ अटोमोटिभ ब्राण्ड स्थापना गरेको थियो । ‘यिजिङ’ ब्राण्ड नेममा यी दुई कम्पनी मिलेर गाडी तयार गरिरहेका हुन् ।

सन् २०२६ को तेस्रो क्वाटरमा यिजिङ ब्राण्डको पहिलो मोडल बजारमा उपलब्ध हुनेछ । यिजिङ ब्राण्डमा आउन लागेको पहिलो मोडल एसयूभी हुनेछ । त्यसलाई प्योर ब्याट्री इलेक्ट्रीक र इआरईभी गरी दुई अप्सनमा ल्याउन लागिएको मिडिया रिपोर्टहरूले दाबी गरेका छन् ।

यिजिङ ब्राण्डले गत महिना गुआङडोङमा आफ्नो डिलर मिट पनि आयोजना गरिसकेको छ । कम्पनीले नयाँ ब्राण्डको लागि ठूला शपिङ मल भित्र एक्सपेरिमेन्ट सेन्टर बनाउने र टच पोइन्टहरू स्थापना गर्ने रणनीति अपनाएको छ ।

डोङफेङ र हुवावेले आफ्नो नयाँ ब्राण्डको उत्पादनलाई सन् २०२६ अप्रिलमा आयोजना हुने बेइजिङ अटो शोमा सार्वजनिक गर्ने मिति तय भएको छ । डोङफेङ अटोमोबाइल टेक्नोलोजीका महाप्रबन्धक वाङ जुनजुनका अनुसार यिजिङ ब्राण्डमा प्रत्येक वर्ष एउटा नयाँ मोडल आउने छ ।

कम्पनीले ल्याउने नयाँ मोडलको टेक्निकल डिटेल भने अहिलेसम्म बाहिर आएको छ । नयाँ एसयूभीको विषयमा थाहा पाउन भने केही समय अझै कुर्नुपर्ने हुन्छ ।

नेपालमा डोङफेङका उत्पादन एमएडब्लू वृद्धि र लक्ष्मी इमोबिलिटीले उपलब्ध गराउँदै आएको छ । यी दुई मध्ये कुनै एक वा अन्य कुनै कम्पनीले भविष्यमा यो ब्राण्ड नेपाल ल्याउँछ अहिल्यै एकिन साथ भन्न सक्ने अवस्था छैन ।


Back_to_top