हेटौंडा-कुलेखानी-फाखेल सडक १ महिना बन्द

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई प्रदेश राजधानी जोड्ने सबैभन्दा छोटो दुरीको हेटौँडा-कुलेखानी-फाखेल सडक आजदेखि १ महिनाका लागि बन्द गरिएको छ ।

हेटौँडा-कुलेखानी-फाखेल सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित महालक्ष्मी खोलामा पक्की पुल निर्माण भइरहेको र सोही खण्डमा सडक ढलान गर्न सवारी आवगमन १ महिना पूर्ण रूपमा बन्द गरिएको हो ।

पूर्वाधार विकास कार्यालय, हेटौँडाले निर्माण कार्यका लागि उक्त सडक बन्द गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई आग्रह गरेको थियो । सोही अनुसार प्रशासनले सो सडक बन्द गरिएको जानकारी गराएको हो ।

सडकमा सवारी साधनको अत्यधिक चापका कारण निर्माण कार्यमा अवरोध पुग्ने, जाम हुने र यात्रुले समेत सास्ती भोग्नु पर्ने भएकाले सडक बन्द गरिएको प्रशासनले जनाएको छ ।

उक्त सडक बन्द भएसँगै सवारी साधनहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । सवारीधनीले वैकल्पिक रुपमा सिस्नेरी-दक्षिणकाली-फर्पिङ सडक प्रयोग गर्न सक्नेछन् ।


Back_to_top