काठमाडौं । बाढी पहिरोका कारण देशभरका १२ सडक प्रभावित भएका छन् ।
नेपाल प्रहरीका अनुसार आइतबार साढे ३ बजेसम्म ५ मुख्य सडक राजमार्ग पूर्ण रूपमा बन्द रहेका हुन् । ७ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ र ३ मा बाढीपहिरो आउँदा पासाङ ल्हामु सडक राजमार्ग र उत्तरगया गल्छी त्रिशुली सडक बन्द भएको छ ।
सिन्धुपाल्चोकको कोदारीमा पहिरो आउँदा अरनिको राजमार्ग, बाग्लुङको दब्ल्याङ र कालाखोलामा पहिरो आउँदा कालीगण्डकी करिडो र रुकुम पश्चिमको आठबिसकोट रिजिगारमा बाढी आउँदा जाजरकोट-डोल्पा भेरी करिडोर पूर्ण रूपमा बन्द भएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध काठमाडौं-नुवाकोट, मध्यपहाडी राजमार्ग (तेह्रथुम), मध्यपहाडी राजमार्ग (लमजुङ), पृथ्वीराजमार्ग (तनहुँ), रापती राजमार्ग (दाङ), शहिद राजमार्ग (रोल्पा) भने एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ ।

