काठमाडौं । करिब ४० अर्ब रुपैयाँ लागतमा निर्माण भएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि सरकारले व्यापाक छुट योजना ल्याएको छ ।
ती दुवै अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी एयरलाइन्सहरू आकिर्षत गर्न सरकारले छुट योजना ल्याएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने एयरलाइन्स कम्पनीले यात्रु सेवा शुल्क, पार्किङ, ल्याण्डिङ, न्याभिगेसन शुल्क, पर्यटन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा छुट पाउने छन् ।
मन्त्रालयका सहप्रवक्ता गोकर्णप्रसाद उपाध्यायले दुवै विमानस्थलमा उडान गर्ने एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई टिकटमा लागू हुने ३ हजार रुपैयाँ बराबरको यात्रु सेवा शुल्क र १ हजार रुपैयाँ बराबरको पर्यटन शुल्क पूरै छुट पाउने जानकारी दिए ।
त्यस्तै, पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्क पनि पूरै छुट पाउने छन् । अन्तर्राष्ट्रिय उडानमा लाग्ने ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ७५ प्रतिशतसम्म छुट पाउने उनले बताए ।
मन्त्रिपरिषद्ले २०८१ साउन २८ गते स्वीकृत गरेको ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना’ अनुसार यो छुट सुविधा २०८३ भदौ मसान्तसम्म लागू हुने मन्त्रालयले जनाएको छ ।
दुवै विमानस्थलबाट हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि उडान समय कटौती गर्दा गत मंसिरमा भैरहवामा ४ वटा विदेशी एयरलाइन्सले नियमित उडान गरेका थिए । तर, २ महिनापछि निरन्तरता दिएनन् । हाल कुनै कम्पनीले उडान गरेका छैनन् । त्यस्तै, संचालनमा आएको २ वर्ष बित्दासम्म पोखरामा आधादर्जन चार्टर्ड उडान भएका छन् । नियमित उडान सुरू हुनै सकेको छैन ।
सरकारले दुवै विमानस्थल संचालन गर्न एकपछि अर्को सुविधा दिए पनि भारतले छोटो हवाई रुट अनुमति नदिँदा विदेशी कम्पनीहरू आकर्षि हुन् सकेका छैनन् ।
पोखरा र भैरहवा विमानस्थल निर्माणका लागि झण्डै ४० अर्ब रुपैयाँ खर्च भएको छ । ऋण लिएर बनाइएका यी विमानस्थल पूर्ण संचालनमा नआउँदा विमानस्थलको दैनिक खर्च धान्न समेत मुस्किल भइरहेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन गरिएको थियो । त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ पुस १७ गते उद्घाटन गरिएको थियो ।
एशियाली विकास बैंकको ८ अर्ब ५५ करोड ऋणसहित ३० अर्बको लागतमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिएको थियो । त्यस्तै, पोखरा विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट २१ करोड ६० लाख रुपैयाँ डलर ऋण लिइएको छ ।


