देशभरका ५ वटा राजमार्ग पूर्ण रूपमा बन्द, ६ एकतर्फी खुले

फाइल तस्बिर

काठमाडौं । बाढी पहिरोका कारण देशभरका ५ वटा सडक पूर्ण रूपमा बन्द भएका छन् ।

नेपाल प्रहरीका अनुसार मंगलबार बिहान (९ बजेसम्म) ११ वटा सकड अवरुद्ध भएका थिए । तीमध्ये ५ वटा अझै बन्द रहेका हुन् । ६ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण संख्वासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

त्यस्तै, बाढीका कारण रसुवाको गोसाइकुण्ड गाउँपालिकामा सडक र पुल बगाउँदा पासाङ ल्हामु राजमार्ग, रुकुम पश्चिम आठबिसकोटको रिजिटारमा बाढी आउँदा जाजरकोाट डोल्पा भेरी करिडोर र डोल्पाको त्रिपुरासुन्दरी छलघाटमा बाढी आउँदा भेरी करिडोर पूर्ण रुपमा बन्द भएको छ ।

त्यस्तै, गुल्मीको कालिगण्डकी, बर्लबामा पहिरो खस्दा कालिगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द भएको छ ।

पहिरोको कारण अवरुद्ध बागलुङको दब्ल्याङ (कालिगण्डकी करिडोर), बागलुङको गलकोट काउसे (मध्यपहाडी लोकमार्ग), गुल्मीको कालिगण्डकी गरगरे (कालिगण्डकी करिडोर), रोल्पाको ग्रामजिम र धामाचौर (सहिट राजमार्ग) र प्युठानको हाडिगौरा (बाग्दुला-मच्छि सकड खण्ड) एकतर्फी रुपमा सुचारु भएको प्रहरीले जनाएको छ ।


Back_to_top