काठमाडौं । बाढी पहिरोका कारण देशभरका ६ वटा सडक पूर्ण रूपमा बन्द भएका छन् ।
नेपाल प्रहरीका अनुसार सोमबार बिहान ९ बजेसम्म देशभरका ११ मुख्य राजमार्ग अवरुद्ध भएका छन् । तीमध्ये ६ वटा अझै पूर्ण रूपमा बन्द रहेका हुन् । ५ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।
त्यस्तै, पाँचथरको फिदिम नगरपालिका ४ बरुणमा बाढी आउँदा मेची राजमार्ग, तुम्बेबा गाउँपालिका बाढी आउँदा तमोर करिडोर, नवलपुर पूर्वको गैँडाकोट तरङ्खोलामा बाढी आउँदा कालिगण्डकी करिडोर पूर्ण रूपमा बन्द भएको छ ।
त्यस्तै, रोल्पाको थवाङमा पहिरो खस्दा सहिद राजमार्ग र रुकुम पश्चिमको आठबिसकाट रिजिटारमा बाढी आउँदा जाजारकोट भेरि डोल्पा भेरी करिडोर पूर्ण रुपमा बन्द भएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध काठमाडौं-नुवाकोट, सहिद राजमार्ग, कालिगण्कडी करिडोर, मध्य पहाडी राजमार्ग भने एकतर्फी रुपमा खुलाइएको प्रहरीले जनाएको छ ।


