काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा सवारी साधन खरिद प्रयोजनाका लागि प्रदान गरिने हायर पर्चेज कर्जा लगानी ह्वात्तै बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको ६ महिना (साउन-पुस)मा हायर पर्चेज कर्जाको वृद्धिदर ७.१ प्रतिशत पुगेको हो । यो औसत कर्जा लगानी वृद्धिदरभन्दा झण्डै दोब्बर हो । चालु आवमा समग्र कर्जाको वृद्धिदर ३.६ प्रतिशत मात्रै छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कुल ९ अर्ब ११ करोड ९२ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब २८ अर्ब ६९ करोड हायर पर्चेज कर्जा लगानी गरेकोमा पुस मसान्त आइपुग्दा बढेर १ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो ।जसमा वाणिज्य बैंकहरूले मात्र १ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
चालु आवमा व्यक्तिगत (प्यासेन्जर) र कमर्शियल दुवै प्रयोजनका लागि प्रदान हुने कर्जा लगानी बढेको छ । ६ महिनामा कमर्शियल कर्जा लगानी ७.९ प्रतिशत र व्यक्तिगत ५.५ प्रतिशतले बढेको छ । अर्थात् ६ महिनामा कमर्शियल सवारी किन्न ६ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ र व्यक्तिगत सवारी किन्न २ अर्ब ३२ करोड २१ लाख रुपैयाँ कर्जा प्रदान भएको छ ।
पछिल्लो समय सवारी साधनको माग र बिक्री बढ्न थालेसँगै हायर पर्चेज कर्जा लगानी पनि बढेको हो । अहिले बैंकको ब्याजदर इतिहासकै तल्लो बिन्दुमा छ । बैंकहरूको औसत बेसरेट ५.३३ प्रतिशत छ । केही बैंकले न्यूनतम ०.५ प्रतिशत मात्रै प्रिमियम जोडेर मात्रै पनि कर्जा दिइरहेका छन् ।
गाडी किन्न बैंकबाट ६/६.५ प्रतिशत ब्याजदरमै ऋण पाउने अवस्था छ । त्यसैले गाडी किन्ने योजनामा रहेकाहरू सस्तो ब्याजदर भएको मौका छोपी धमाधम ऋण लिएर सवारी किन्न थालेको देखिन्छ । बैंकहरूले पनि ग्राहकलाई लक्षित गर्दै सस्तो ब्याजदरको कर्जा योजना ल्याइरहेका छन् ।
विगत ३ वर्षदेखि आर्थिक शिथिलता कायमै रहँदा कृषि, उत्पादनमूलक, औद्योगिक क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन । शिथिलताका बाबजूद अटो, सेयर लगायत क्षेत्रमा भने कर्जाको माग छ । यस्तोमा बैंकहरूले यी क्षेत्रमा धमाधम कर्जा विस्तार गरिरहेका छन् । साथै, बैंकहरूले ग्राहक तान्न सस्तो ब्याजदरको आकर्षक सवारी कर्जा समेत ल्याइरहेका छन् ।
बैंकहरूले सवारी कर्जा ७ वर्षसम्मका लागि प्रवाह गर्छन् । व्यवसाय खुम्चिएको बेलामा दीर्घकालीन ऋण प्रवाह गर्दा समग्रमा फाइदा पुग्ने भएकाले अहिले सस्तो ब्याजदरमै भए पनि कर्जा लगानी गरेका हुन् ।
कुन बैंकले कति दिएका छन् ऋण ?
हायर पर्चेज कर्जा लगानीमा मुख्य गरी ठूला बैंकहरू बीच तीव्र प्रतिस्पर्धा देखिन्छ । ग्लोबल आइएमई, नबिल, राष्ट्रिय वाणिज्य, हिमालयन, एनएमबी, एभरेष्ट, प्राइम लगायत बैंक अगाडि रहेका छन् । तुलनात्मक रूपमा विदेशी स्वामित्वका बैंकहरूले सवारी साधनमा कम कर्जा लगानी गरेका छन् ।
राष्ट्र बैंकका अनुसार सवारी साधन किन्न सबैभन्दा धेरै ऋण ग्लोबल आइएमई बैंकले दिएको छ । ग्लोबलले कुल १५ अर्ब ७२ करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेको छ । वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जाको यो १२.८१ प्रतिशत हो । तुलनात्मक रूपमा ग्लोबल आइएमई बैंक ब्याजदर सस्तो हुने बैंकमै पर्छ । हाल यसको बेसरेट ५.१६ प्रतिशत छ । चुक्ता पूँजीका आधारमा ग्लोबल सबैभन्दा ठूलो बैंक समेत हो ।
त्यस्तै, नबिल बैंकले दोस्रो धेरै हायर पर्चेज कर्जा लगानी गरेको छ । बैंकले पुस मसान्तसम्म गाडी किन्न १२ अर्ब ४२ करोड रुपैयाँ ऋण दिएको छ ।
त्यसैगरी, एभरेष्ट बैंकले ११ अर्ब ७५ करोड र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब ८४ करोड रुपैयाँ कर्जा दिएका छन् । यी दुवै बैंक सबैभन्दा सस्तो बेसरेट भएका बैैंकहरू समेत हुन् । हाल यिनको बेसरेट क्रमशः ४.७३ प्रतिशत र ४.४२ प्रतिशत मात्रै छ ।
त्यसैगरी, ७ बैंकले ५ देखि ७ अर्बसम्म हायर पर्चेज कर्जा प्रवाह गरेका छन् । हिमालयनले ७ अर्ब ७ करोड, एनएमबीले ६ अर्ब ७३ करोड, सानिमाले ६ अर्ब ७० करोड, प्राइम कमर्शियलले ६ अर्ब २५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब ९४ करोड, कृषि विकासले ५ अर्ब ४८ करोड र प्रभुले ५ अर्ब ४६ करोड रुपैयाँ हायर पर्चेज कर्जा दिएका छन् ।
त्यस्तै, सिटिजन्सले ४ अर्ब ७० करोड, सिद्धार्थले ४ अर्ब ४२ करोड, नेपाल एसबीआइले ३ अर्ब ६२ करोड, कुमारीले ३ अर्ब ५३ करोड, माछापुच्छ्रेले ३ अर्ब ५३ करोड, लक्ष्मी सनराइजले ३ अर्ब १३ करोड, नेपाल बैंकले २ अर्ब ४५ करोड र एनआइसी एसियाले १ अर्ब ७२ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका छन् ।
२० बैंक मध्ये विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टले सबैभन्दा कम ऋण दिएको छ । चार्टडले पुससम्म कुल १ अर्ब १८ करोड रुपैयाँ हायर पर्चज कर्जा प्रवाह गरेको छ । बैंकको बेसरेट सस्तो भए पनि नीतिगत रुपमै हायर पर्चेजमा कम कर्जा लगानी गरेको हो ।

