तीन दिनपछि आउँदै होण्डाको नयाँ एसयूभी, यस्ता हुने छन् फिचर

काठमाडौं । जापानी कार निर्माता होण्डाले भारतीय बजारलाई ध्यानमा राख्दै नयाँ एसयूभीको टिजर सार्वजनिक गरेको छ । होण्डाले तीन दिनपछि (मे २२ तारिखमा) सार्वजनिक गर्ने ‘जेडआर-भी’ एसयूभीको टिजर बाहिर ल्याएको हो ।

बाहिर आएको टिजर अनुसार होण्डा जेडआर-भीको ग्लोबल मोडलसँग मिल्दो जुल्दो डिजाइनमै भारतीय उत्पादन आउने अनुमान गर्न सकिन्छ । हेडलाइटको तल्लो भागमा एल आकारको एलईडी डे टाइम रनिङ लाइट दिइएको छ । तेस्रो आकारमा हेडलाइट हाउजिङ देखिन्छ ।

टिजरलाई विश्लेषण गर्दा होण्डा जेडआर-भी कुपे डिजाइनमा हुने अनुमान गर्न सकिन्छ । अगाडिको ग्रिल पनि पूर्णतः नयाँ हुने अनुमान गर्न सकिन्छ ।

होण्डाले जेडआर-भीलाई फ्ल्यागशिप एसयूभीको रूपमा यसलाई भारतमा लन्च गर्न लागेको मिडियाहरूले उल्लेख गरेका छन् । भारतीय मिडियाहरूको अनुमान मान्ने हो भने यसको मूल्य ४० लाखदेखि ५० लाखसम्म कायम हुनेछ ।

होण्डाले यसमा २.० लिटर क्षमताको फोर सिलिण्डर इन्जिन दिनेछ । उक्त इन्जिनले अधिकतम १८० पीएस पावर प्रदान गर्नेछ । हाइब्रिड टेक्नोलोजीमा आधारित एसयूभी हुने भएको कारण जेडआर-भीमा ई-सीभीटी गियरबक्स रहनेछ ।

होण्डा आफ्नो हाइब्रिड टेक्नोलोजीको लागि परिचित ब्राण्ड हो । सम्भवत: कम्पनीले जेडआर-भी मोडललाई ४५६८ एमएम लामो, १८४० एमएम चौडा र १६२० एमएम अग्लो साइजमा ल्याउने छ । यसमा ह्वीलबेस भने २६५७ एमएम लामो रहनेछ ।

आधुनिक ईभी जत्तिकै फिचरमा आउने नयाँ जेडआर-भी एसयूभको क्याबिन पनि निकै सुविधा सम्पन्न हुनेछ । वायरलेस चार्जर, एडास सुइट, इलेक्ट्रीक कन्ट्रोल सिट, ड्यूलजोन क्लाइमेट कन्ट्रोल, फ्लोटिङ स्क्रीन दिइने छ ।


Back_to_top