काठमाडौं । पेट्रोललाई हाइब्रिड र ईभी बनाउने कुरा बहस भइरहेको समयमा ईभीलाई हाइब्रिड बनाउने नयाँ इन्जिनको विकास भएको छ । युरोपियन ब्राण्ड रेनो, चिनियाँ ग्रुप जिली र साउदी पेट्रोकेमिकल जाइन्ट अराम्को मिलेर नयाँ इन्जिनको विकास गरेका हुन् ।
पछिल्लो समय अटोमोवाइल कम्पनीहरुले इलेक्ट्रीक कारको लक्ष्यलाई पछि सारिरहेको परिपेक्षमा रेनोले नयाँ प्रविधिको कम्प्याक्ट इन्जिनको विकास गरेको हो । अटोमोवाइल कम्पनीहरुले डेडिकेटेड ईभी प्लेटफर्मको विकास गर्नको लागि अर्बौ रुपैया लगानी गरिसकेका छन् । तर, बजार भने प्योर ईभीभन्दा हाइब्रिडमा केन्द्रित भइरहेको छ ।
त्यसकै लागि रेनो, जिली र अराम्को मिलेर नयाँ प्रविधिको ‘हर्स पावर ट्रेन’ विकास गरेका हुन् । आगामी संघाई अटो शोमा यसलाई आधिकारीक लन्च गरिने छ ।
नयाँ प्रविधि ‘अल इन वान सिस्टम’ हो । यसमा इलेक्ट्रीक मोटर, कम्बस्चन इन्जिन र गियरबक्स सबै रहने छन् । यसको डिजाइन फ्रन्ट ड्राइभ युनिट भएका ईभीहरुको इन्जिन रिप्लेस गर्नको लागि भएको हो । यो इन्जिन पेट्रोल, फ्लेक्स फिउल, प्योर मेथानोल तथा सिन्थेथिक गरी सबै फ्यूलबाट चल्न सक्छ ।
यसलाई रेन्ज एक्सटेन्डरको रुपमा पनि प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार अहिले नै हुन्डाईको आयोनिक ५ र पोर्श्चे टाइकान जस्ता पर्फमेन्स कारमा नयाँ इन्जिनको प्रयोग गरेर ‘रेट्रो फिटेड हाइब्रिड’ बनाउन सकिन्छ ।