काठमाडौं । आगामी बुधबारदेखि सुरू हुने सांघाई अटो शो २०२५ को तयारी पूरा भएको आयोजकले जनाएको छ । विश्वकै सबैभन्दा ठूलो अटो शोको रूपमा परिचय बनाएको सांघाई अटो शोमा दर्जनौं मोडल एक साथ सार्वजनिक हुनेछन् ।
आयोजकले अटो शोमा सहभागी ब्राण्डको स्टलसहितको नक्सा पनि जारी गरिसकेको छ । अप्रिल २३ देखि मे २ तारिखसम्म सांघाईको राष्ट्रिय प्रदर्शनी तथा सम्मेलन केन्द्रमा आयोजना हुने अटो शोमा विभिन्न २६ देशका करिब १ हजार कम्पनीहरू सहभागि हुँदैछन् ।
३ लाख ६० हजार वर्ग मिटरभन्दा बढी क्षेत्रमा फैलिएको विशाल प्रदर्शनी केन्द्रमा १३ वटा इनडोर हलहरू हुनेछन् । जसमा निजी कारहरूको स्टल ८ वटा हलमा रहने छ ।
नियो, अन्भो र फायर फ्लाई, शाओमी, हुवावे, फ्याङ चेङ बाओ, बीएमडब्लू, ग्रेटवाल मोटर, लोटस र अल्ट्रा लग्जरी ब्राण्ड बेन्टले एउटा हलमा रहने छन् ।
बीवाइडी, डेन्जा, याङवाङ र फेङ चेङ बाओ जस्ता ब्राण्ड एउटा हलमा हुने छन् । साथै, एक्सपेङ, फक्सवागेन, एलआई अटो, जिली ग्यालेक्सी र लिंकन ब्राण्ड पनि अटो शोमा आफूलाई बलियोसँग प्रस्तुत गर्दैछन् ।
जीकर, लिंक एण्ड को, लिपमोटर, होण्डा जस्ता ब्राण्डले पनि आफ्ना उत्पादन देखाउने छन् । यस बाहेकका थुप्रै अन्तर्राष्ट्रिय ब्राण्ड र चिनियाँ स्टार्टअप कम्पनीले पनि आफ्नो उत्पादन प्रदर्शनी गर्ने छन् ।
आउँदै दर्जनौं मोडल
अहिलेसम्मको जानकारी अनुसार दर्जनौं नयाँ मोडल प्रदर्शनीमा रहने छन् । विभिन्न ब्राण्डले नयाँ मोडल ल्याउन लागेका हुन् ।
चिनियाँ ब्राण्ड फायर फ्लाई, एमजी, हुवावे, बीवाइडी, चांगान, डोङफेङ, ओमोडा/जेको, जीकर, जिली जस्ता ब्राण्डले नयाँ मोडल प्रदर्शनी गर्ने छन् ।
जापानी ब्राण्ड टोयोटा, निसान, माज्दा, होन्डा जस्ता चर्चित ब्राण्डले पनि आफ्नो नयाँ उत्पादन देखाउने छन् । कोरियन ब्राण्ड किया, हुन्डाई र जेनिससले पनि नयाँ उत्पादन देखाउने छन् ।
युरोपियन ब्राण्ड फक्सवागेन, रेनो, बीएमडब्लू, मर्सिडिज, बेन्टले, पोर्श्चे, चांगान, चेरी, आइकार, स्मार्ट, अभतार, जेटोर लगायतका ब्राण्डले पनि नयाँ मोडल देखाउने छन् ।
आइतो, अउडी, भोल्भो, मिनी कुपर, लेक्सस, एवोन, बीएआइसी, फोर्ड, इनफिनिटी लगायतले नयाँ उत्पादन देखाउने भएका हुन् ।