काठमाडौं । पछिल्ला ३ वर्षमा नै झण्डै १० हजार यूनिट विद्युतीय कार बिक्री भएका छन् । सन् २०१० देखि बजारमा विद्युतीय कार आउन थालेका हुन्, विगतदेखि हेर्दा ईभी आउन थालेको झण्डै १३ वर्ष पुरा भइसकेको छ ।
पेट्रोलियम पदार्थबाट चल्ने कार बाहिरबाट हेर्दा, गाडी बनेको मिति, गुडेको किलोमिटर र इन्जिनको आवज सुनेरै मूल्य लगाउने गरिन्थ्यो । तर, ईभीमा यस्ता किसिमका आधारले छनोट गर्न सकिदैन ।
त्यसमाथि विद्युतीय कारमा हाइ भोल्टेज ब्याट्री र इलेक्ट्रीक मोटरको अवस्थाले मूल्य निर्धारण गर्नुपर्छ । यी कम्पोनेन्टको स्थिति नबुझी गाडीको मूल्य लगाउन सकिदैन ।
नेपालमा ईभीले चर्चा पाउनु र धेरै बिक्री हुनुमा करको फाइदा पहिलो कारण हो । पेट्रोल कारको तुलनामा निकै कम कर लाग्ने र तुलनात्मक रुपमा बिक्री मूल्य पनि २५ प्रतिशत कम भएको कारण धेरैले ईभी किन्न खोजेका हुन् ।
नयाँ ईभी खरिद नगरी पुरानो प्रयोग भइसकेका ईभी किन्नहरुले ध्यान दिनु पर्ने कुरा धेरै हुन्छन् । त्यसमध्ये निकै महत्वपूर्ण ७ विषयलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
ब्याट्री प्रयोगको समय
हामीले दैनिक प्रयोग गर्ने मोवाइल फोन, ल्यापटप जस्ता इलेक्ट्रोनीक ग्याजेटहरु रहेको ब्याट्री जस्तै कारको व्याट्री पनि समयक्रम अनुसार डिग्रेड हुँदै जान्छ ।
कहिले कहिँ एकदमै कम ब्याट्री प्रयोग भएको भएपनि बाहिरको तापक्रमले ब्याट्रीको आयुलाई प्रभाव पारिरहेको हुुन्छ । त्यसैले कारको डिलर कहाँ लगेर उक्त कारको ब्याट्री हेल्थ के–कस्तो छ भन्ने बुझ्नु पर्छ ।
ब्याट्री कति ड्रेन भएको छ र बाँकी ब्याट्रीले कति रेन्ज प्रदान गर्छ एकिन गरेर मात्रै ईभी खरिद गर्नुपर्छ ।
ब्याट्री रिप्लेस भएको छ/छैन एकिन गर्ने
विद्युतीय कार खरिद गर्दा ब्याट्री फेलियर भएको घटना खासै सुनिदैन । तर, धेरै माइलेज दिने ईभीहरुको भने यदाकदा ब्याट्री प्याक रिप्लेस गरेको हुन्छ । यदि, कुनै कारणले ईभीको ब्याट्री प्याक रिप्लेस गरिएको छ भने बिक्रेताले ब्याट्रीको डकुमेन्ट समेत दिएको हुन्छ ।
ब्याट्रीको सेल परिवर्तन भएको एकिन भएमा डकुमेन्टमा ब्याट्री रिप्लेसमेन्टको मिति, ब्याट्रीको अधिकतम रेन्ज र ब्याट्री हेल्थको बारेमा खुलाइएको हुन्छ । यदि, तपाई पुरानो ईभी खरिद गर्दै हुनुहुन्छ भने यी तथ्यहरुको राम्रो जानकारी लिनु पर्छ ।
ब्याट्रीमा रहेको वारेन्टी बारे बुझ्ने
ईभीको मुख्य कम्पोनेन्ट नै ब्याट्री हो । मुख्य पावर नै ब्याट्री भएको हुनाले यसमा कम्पनीहरुले वारेन्टी दिएका हुन्छन् । यस्तो वारेन्टी निश्चित किलोमिटर वा निश्चित वर्षमा जुन पहिला आउँछ त्यसैलाई मानिन्छ ।
कम्पनीले नयाँ गाडी किन्ने मानिसलाई वारेन्टी ट्रान्फर गर्ने होवा होइन, त्यो कुरा पनि निक्यौल गरेर मात्रै ईभी किन्नु पर्छ । त्यसैले कुनै पनि पुरानो ईभी खरिद गर्नु पहिला कति किलोमिटर गुडेको छ । कति वर्ष पुरानो गाडी हो भन्ने एकिन गर्नु पर्छ ।
मेन्टीनन्स हिस्टी
विद्युतीय कारमा ‘एड्भान्स इक्युपमेन्ट’को प्रयोग भएको हुन्छ । त्यसैले यसको मेन्टीनेन्स आधिकारीक डिलरले मात्र गरेको हुन्छ । उक्त डिलर वा सर्भिस सेन्टरमा तपाईले खरिद गर्न खोजेको ईभीको मेन्टीनेन्स रेकर्ड हुन्छ ।
हुनत त्यस्तो हिस्ट्री ग्यासोलीन गाडीको पनि हुन्छ । तर, ईभीको मेन्टिनेन्स पनि छोटो अवधिमा गर्नु नपर्ने भएको कारण चेक गर्नु पर्छ । साथै, गाडीको कुनै पार्टस् रिप्लेस गरेको वा विण्डस्कृन तथा टायर बदलेको छ वा छैन सबै जानकारी लिनु राम्रो हुन्छ ।
चार्जिङ क्यापासिटी र चार्जिङ स्टेशन
इलेक्टीक कारको संख्या बढेसँगै निजी र सरकारी तवरबाट चार्जिङ सेन्टरहरु निर्माण भइरहेका छन् । अहिले बजारमा २५ किलोवाटदेखि १२० किलोवाटसम्मका फास्ट चार्जर संचालनमा छन् ।
यस्तोमा तपाइले खरिद गर्न लागेको ईभीको फास्ट चार्जिङ लिने क्षमता कति किलोवाट हो एकिन गर्नु राम्रो हुन्छ । जति धेरै किलोवाटको क्षमता भयो उतिनै छिटो चार्ज हुने हुनाले कम्तीमा नेपालमा स्थापना भएका फास्ट चार्जरको क्षमता अनुसारको चार्ज लिनसक्ने ईभी खरिद गर्नु राम्रो हुन्छ ।
त्यस्तै, आफ्नो नियमित यात्रा गर्ने रुटमा फास्ट चार्जिङ स्टेशन कहाँ कहाँ पर्छ त्यो पनि याद गर्नु पर्छ । कहिले काहिँ घरमा चार्ज गर्न नभ्याएको समयमा यस्ता स्टेशनमा पनि चार्ज गर्नुपर्ने हुन्छ ।
आवश्यक रेन्ज
आफ्नो दैनिक आवश्यकताको लागि कति रेन्ज आवश्यक हो भन्ने एकिन गरेर पुराना ईभी किन्नु पर्छ । फरक फरक ईभीको फरक रेन्ज हुन्छ । धेरै रेन्ज पाउनका लागि ठूलो साइजको ब्याट्री भएका ईभी किन्नु पर्छ । त्यसको मूल्य पनि धेरै हुन्छ । त्यसकारण पैसाको वचत गर्नका लागि आफूलाई आवश्यक रेन्जको मात्र इभी खरिद गर्दा राम्रो हुन्छ ।
चार्जिङ एसेसोरिज
ईभीलाई घरमा वा चार्जिङ स्टेशनमा पनि चार्ज गर्न सकिन्छ । साथै अहिलेका नयाँ ईभीहरुबाट त पावर बाहिर तानेर अन्य घरायसी इक्यूपमेन्ट समेत संचालन गर्न सकिन्छ ।
त्यसैले प्रयोग भएको ईभी खरिद गर्नु अगाडि कारमा चार्जिङ केबल, चार्जर, पंचर किट, भीटुएल पोर्ट आदि चुस्त दुरुस्त छ या छैन चेक गरेर मात्र खरिद गर्नु पर्छ ।


