काठमाडौं । भारतीय स्टार्टअप कम्पनी सिम्पल वानले कम मूल्यको ‘सिम्पल डट वान’ इलेक्ट्रीक स्कुटर बजारमा ल्याएको छ । भारतमा सार्वजनिक भएको नयाँ स्कुटरले कम मूल्य र सिंगल चार्जमा १५१ किलोमिटर रेन्ज दिने भएपछि धेरैले यसमा चासो देखाएका हुन् ।
यसअघि नै सार्वजनिक गर्ने मिति घोषणा गरेर बुकिङ सुरु भएको सिम्पल डट वान स्कुटर डिसेम्बर १५ तारिखमा लन्च हुने बताइएको थियो । बुकिङ खुल्ला हुने समयमा नै १ लाखभन्दा कम मूल्यमा आउने बताइएको स्कुटरलाई एक रुपैयाँ कम ९९ हजार ९९९ भारतीय रुपैयाँ तोकिएको छ ।
कम्पनीले ल्याएको डट वान स्कुटरमा ३.७ किलोवाट आवर क्षमाताको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । यसमा प्रयोग भएको इलेक्ट्रीक मोटरको पीकपावर ८.५ किलोवाट छ । यसले ७२ एनएम टर्क प्रदान गर्छ ।
यसमा ७ इन्चको टीएफटी डिस्प्ले तथा ब्लुटूथ कनेक्टिभिटी फिचर उपलब्ध रहेको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गर्न ३ घन्टा ४७ मिनेट लाग्ने छ । यसको टप स्पीड क्षमता १०५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
स्कुटरको अगाडि २०० एमएमको डिस्क र पछाडि १९० एमएमको डिस्क ब्रेक उपलब्ध छ । १२ इन्चको ह्वील प्रयोग भएको स्कुटरमा १६४ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।


