काठमाडौं । कर्णाली प्रदेशको हुम्लादेखि काठमाडौंसम्म नियमित बस सेवा सुरू हुने भएको छ ।
हुम्ला हिल्सा यातायात प्रालिले पुस ३ गतेदेखि हुम्लाको सिमकोटबाट काठमाडौंसम्म बस सेवा संचालन गर्ने भएको हो ।
हुम्ला हिल्सा यातायात प्रालिका अध्यक्ष विशाल रोकायाले आजदेखि बस सेवा सुरू गर्ने भनिए पनि प्राविधिक कारणका कारण भोलिदेखि सुरू गर्न लागिएको बताए ।
उनका अनुसार सिमकोटबाट बिहान ९ बजे छुट्ने बस सार्केघाट, पिलीचौर, घाटाचौर, कालिकोट, दैलेख सुर्खेत हुँदै नेपालगंजसम्म आउने छ । नेपालगंजबाट यात्रुलाई अर्को बसमा चढाएर (मेल गरेर) काठमाडौं पठाइने उनले बताए ।
‘भोलिदेखि सिमकोटबाट काठमाडौंसम्म नियमति बस सेवा सुरू गर्दैछौं । बस बिहान ९ बजे छुट्ने छ,’ उनले मेरोअटोसँग भने, ‘यद्यपि, सिमकोटबाट छुटेको बस सिधै काठमाडौं जाँदैन । नेपालगंजबाट ज्वाला यातायातको बसमा मेल गरेर पठाउँछौं ।’
उनले हाललाई सिमकोट-काठमाडौंको भाडादर ७ हजार ५०० रुपैयाँ तोकिएको बताए । हिल्सा यातायातले हुम्ला बाहेक मुगुबाट पनि काठमाडौंसम्म बस सेवा सुरू गरेको छ ।
प्रालिमा हाल १४ वटा बस आबद्ध रहेको अध्यक्ष रोकायाले जानकारी दिए ।

