काठमाडौं । हस्कभर्नाले बजाज अटोसँग मिलेर सार्वजनिक गरेको २५० सीसी क्षमताको मोटरसाइकल भारतमा बिक्री सुरु गरेको छ । कम्पनीले २५० सीसी क्षमताका दुई नयाँ मोटरसाइकलको बिक्री सुरु गरेको हो । जसमा हस्कभर्ना भिट्पिलेन २५० र स्भार्टपिलेन २५० रहेको छ ।
११६ बर्ष पुरानो मोटरसाइकल निर्माता कम्पनीले ६ बर्ष अगाडि अस्ट्रियन कम्पनी केटीएमसँगको सहकार्यमा हस्कभर्ना मोटरसाइकल भारतमा निर्माण तयारी गर्दै आएको थियो । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोको केटीएम र हस्कभर्नामा ४८ प्रतिशत सेयर रहेको छ ।
हस्कभर्नाले ल्याएको भिट्पिलेन २५० क्याफे रेसर डिजाइनमा आएको छ भने स्भार्टपिलेन २५० स्क्र्याम्बलर डिाजाइनमा रहेको छ । कम्पनीले भारतमा सुरुवाति मूल्यको रुपमा दुबै मोटरसाइकलको मूल्य १ लाख ८० हजार भारु तोकेको छ ।
यी दुबैमा समान इन्जिन रहेकाले दुबै मोटरसाइकलको पावर र टर्क समेत समान रहेका छन् । यसमा रहेको २४८.८ सीसी इन्जिनले अधिकतम ९००० आरपीएममा ३० हर्सपावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्छ ।
स्वीडिस मोटरसाइकल हस्कभर्नाले १९०३ देखि मोटरसाइकल उत्पादन सुरु गरेको थियो । हस्कभर्ना मोटरक्रस एरिनामा लेजेन्ड्री मोटरसाइकलको रुपमा परिचित रहेको छ । बजाजले भने हस्कभर्नालाई प्रो–बाइकिङ यूनिटको लागि खरिद गरेको बताएको छ ।
कम्पनीले यी मोटरसाइकलमा लाइट वेट स्टील फ्रेम प्रयोग गरेको छ, जुन केटीएममा समेत प्रयोग भइरहेको छ मूल्यमा पनि यी मोटरसाइकल केटीएम २०० भन्दा ७ हजार भारु महंगो रहेको छ । यी मोटरसाइकलमा डब्ल्यूपी एपेक्स यूएसडी सस्पेन्सन, बोस्च ब्रान्डको डबल च्यानल स्यान्डर्ड, एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, १७ इन्च कास्ट आल्मुनियम ह्वील जस्ता बिशेषता दिएको छ ।
नेपाल पनि आउँछ, कति पर्ला मूल्य ?
नेपालमा पनि हस्कभर्नाका भारतीय उत्पादन आउने पक्का भएको छ । नेपालमा बजाज र केटीएमका उत्पादन बिक्री गर्दै आएको हंशराज हुलासचन्द एण्ड कम्पनीले यसलाई ल्याउने जनाएको छ ।
कम्पनीले यसलाई नेपाली बजारमा केटीएम ड्यूक २०० भन्दा करिब ३५ देखि ४० हजार रुपैयाँ महंगो मूल्य राखेर बिक्री गर्न सक्ने छ । अहिले केटीएम ड्यूक २०० को एबीएस सहितको मूल्य ५ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ ।

