तपाईलाई ट्राफिक प्रहरीको फोन आयो ? यसरी पत्ता लाग्दैछ नियम मिचेको

काठमाडौ । के तपाईले सवारी साधन चलाउदा लापर्वाही गरिनहनु भएको छ । होसियार रहनुहोस्, तपाई जुन सुकै समयमा पनि कारवाहीमा पर्न सक्नुहुन्छ । ट्राफिक प्रहरी महाशाखा अहिले सक्रियता पूर्वक सीसीटिभी फुटेजको आधारमा सवारी साधनहरुलाई कारवाही गर्दै आइरहेको छ ।

महाशाखाले अहिले सीसीटिभीको माध्यमबाट लेन क्रस गर्ने, एकतर्फी (वान वे) मा प्रवेश गरेको देखिए उनिहरुलाई फोन गरेर बोलाएरै कारवाही गर्ने गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख भिमप्रसाद ढकालले सीसी क्यामेराको प्रयोगले ट्राफिक नियमनलाई छरितो र प्रभावकारी बनाउँदै लगेको बताए । उनले सीसीटिभीले ट्राफिक नियमनमा उल्लेखनिय भूमिका निभाएको भन्दै दैनिक १ देखि डेढ सय सवारीलाई कारवाही गर्न सफल भएको बताए ।

हाल उपत्यकाभर १ हजार ६ सय ८४ वटा सीसीटिभी रहेकोमा यसलाई थप गर्दै लैजाने काम भइरहेको ढकालले जानकारी दिए ।

अहिले सीसीटिभी जडान भएका स्थानमा पनि छुट्टा छुट्टै निकायबाट हेर्ने काम भइरहेको छ । आगामी दिनमा यसलाई एकै स्थानबाट सबै ठाउँको नियमन गर्ने गरि काम अगाडि बढाउने योजना रहेको उनले बताए ।

ढकालले आउने दिनमा स्मार्ट सीसी क्यामेरा समेत जडान गरिने जानकारी दिए ।

‘अहिले सामान्य सीसीक्यामेरा जोडिएको छ, आउँदो समयमा राखिने क्यामेरा स्मार्ट र थप जानकारी दिनेखालको हुनेछ,’ ढकालले मेरोअटोसँग भने ।

सीसी क्यामेराले ट्राफिक नियन्त्रण मात्र नभई समाजमा हुने अपराधलाई समेत नियन्त्रण गर्न सक्ने भन्दै उनले अहिलेको तुलनामा दोब्बर सीसी क्यामेरा जडान गर्न आवश्यक रहेको बताए ।

‘सिसि क्यामेराले ट्राफिक नियम पालनाका लागि मात्र नभई सर्वसाधारणमा सचेतनासमेत जगाएको छ, यसलाई अझै विस्तार गर्दै लाने छौँ,’ ढकालले भने ।

महाशाखालाई सम्पुर्ण फुटेज रानीपोखरी मेट्रोबाट प्राप्त हुन्छ । त्यसकै आधारमा महाशाखाले कारवाही गर्दै आएको छ ।

महाशाखाको अनुसार चालु आर्थिक वर्षको ७ महिना भित्रै ७ हजार ५ सय १८ सवारी साधन मेट्रो सीसीटिभीको माध्यमबाट कारवाहीमा परेका छन् । त्यस मध्ये ९ सय ३५ ओटा फुटेजको आधारमा महाशाखाले कारबाही गरिएको हो ।

त्यस्तै ६ हजार ३ सय ४५ ओटा सवारी साधन भने मेट्रो सीसीटिभीको माध्यमबाट देखिने बितिकै तुरुन्त फिल्डमा गएर गरिएको कारवाहीमा परेका छन् ।

ट्राफिक प्रहरी महाशाखामा अहिले २ वटा सीसीटिभी क्यामेरा जडित भ्यान संचालनमा छ । उक्त भ्यानको माध्यमबाट फिल्डमा गएर ७ महिनामा २ सय ३८ ओटा सवारी साधनहरु कारवाहीमा परेका छन् ।

रानीपोखरी मेट्रोले यी सवारी साधनहरुलाई कारवाही गर्नुस भनेपछि मात्र महाशाखाले सीसीटिभी फुटेज हरेर यातायात व्यवस्था विभागलाई पत्र लेखेर पठाउँछ । यातायात व्यवस्थापन विभागको सहकार्यतामा उक्त सवारी साधनको सम्पुर्ण विवरण निकालेर सवारी धनीलाई फोनगरि बोलाउने गरिएको छ । गल्ति गरेकालाई फुटेज देखाएर मात्र नियम अनुसारको जरिवाना तिर्न लगाउने गरिएको छ ।

ट्राफिक प्रहरी महाशाखाले २०७४/१०/२५ बाट उक्त कार्यक्रम संचालनमा ल्याएको थियो ।

आर्थिक वर्ष २०७४/०७५ मा मात्र सीसीटिभीबाट ५ सय ५१ सवारी साधन कारवाहीमा परेका थिए । त्यस्तै गत आर्थिक वर्ष २०७५/०७६ मा सीसीटिभीबाट ८ हजार ३ सय ८० सवारी साधन कारवाही गरिएको थियो ।

उक्त तथ्यांकको तुलनामा चालु आर्थिक २०७६/०७७ मा श्रावण महिनादेखि माघ सम्ममा अत्यन्तै धेरै सवारी साधन कारवारीमा परेको देख्न सकिन्छ ।


Back_to_top