हुन्डाई आई २० र मारुती सुजुकी बलेनोमा यस्तो छ तुलनात्मक भिन्नता

काठमाडौं । प्रिमियम ह्याचव्याक सेग्मेन्टमा हुन्डाई आई २० र मारुती सुजुकी बलेनको एक अर्काका कडा प्रतिस्पर्धी मोडल हुन् । यी दुई मोडल उपभोक्ताले पनि रुचाएका मोडलमा पर्छन् ।

एक अर्काका प्रतिस्पर्धी यी दुई मोडलमा बलेनो नेपालमा धेरै बिक्री भएको मोडल हो । तर, हुन्डाई इलाइट आई २० भन्दा आई २० एक्टीभ नेपालमा धेरै बिक्री हुने मोडलमा पर्छ ।

हामीले बलेनो डेल्टा भेरियन्ट र इलाइट आई २० म्याग्ना प्लस भेरियन्टको यहाँ तुलनात्मक भिन्नता प्रस्तुत गर्ने जमर्को गरेका छौं ।

मूल्यका हिसावले दुबै मोडलको मूल्य लगभग उस्तै रहेको छ । आई २० म्याग्ना प्लसको मूल्य ३३ लाख ५६ हजार रुपैयाँ रहेको छ भने बलेनो डेल्टाको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यी दुबै कारमा समान क्षमताको इन्जिन दिइएको छ । यी दुबै इन्जिनले समान पावर र टर्क प्रदान गर्ने छ । बलेनो र आई २० दुबैमा ११९७ सीसी क्षमताको पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ बीए पावर र ४००० आरपीएममा ११५ एनएम टर्क प्रदान गर्ने छ । आई २० को टर्क भने ११४ एनएम रहेको छ । दुबैमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

इन्धन ट्याङ्की आई २० मा ठूलो रहेको छ । आई २० मा ४५ लिटर र बलेनोमा ३७ लिटरको ट्याङ्क दिइएको छ । माइलेजको कुरागर्दा बलेनो राम्रो रहेको छ । एआरएआईले प्रमाणित गरेअनुसार बलेनोले २१ र आई २० ले १८ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने छ ।

सुरक्षा फिचरका हिसावले पनि यी दुबै कार समान देखिन्छन् । दुबै कारमा एबीएस, इबीडी, सेन्ट्रल लक, पावर डोर लक, चाइल्ड सेफ्टी लक, दुई एयरव्याग, प्यासेन्जर साइड रियर भ्यू मिरर, हेलोजेन हेडल्याम्प, सबै यात्रुलाई सिट बेल्ट, फ्रन्ट सिटबेल्ट वार्निङ, साइड र फ्रन्ट इम्प्याक्ट बीम, एड्जस्टेवल सिट, इन्जिन इमोविलाइजर, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ लगायतका फिचर छन् ।

साइजको कुरागर्दा बलेनो १० एमएम बढी लामो, ११ एमएम फराकिलो र ५ एमएम बढी अग्लो छ । बलेको लम्बाई ३९९५ एमएम रहेको छ भने आई २० को लम्बाई ३९८५ एमएम रहेको छ । बलेको चौडाई १७४५ एमएम र उचाई १५१० एमएम छ भने आई २० को चौडाई १७३४ एमएम र उचाई १५०५ एमएम रहेको छ ।

ह्वीलबेसमा आई २० राम्रो छ । यसको ह्वीलबेस २५७० एमएम छ भने बलेनोको ह्वीलबेस २५२० एमएम मात्रै छ । दुबैमा समान १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।


Back_to_top