हुन्डाईको भारतमा ३० वर्षः नेपालमा उत्पादनदेखि क्वालिटी सर्भिस

काठमाडौं । दक्षिण कोरियाली ब्राण्ड हुन्डाईले सन् १९९६ मा भारत प्रबेश गरेको थियो । मारुती सुजुकीको विकल्पमा खरो उत्रिएको हुन्डाईले भारतीय उपभोक्तालाई प्रतिस्पर्धी मूल्यमा गाडी बेच्न सफल हुँदै आएको छ ।

हुन्डाई मोटर्सको लागि भारत निकै ठूलो बजार प्रमाणित भइसकेको छ । भारतमा उत्पादन भएका हुन्डाईका कारले नेपालमा पनि बलियो उपस्थिति जनाएको छ ।

भारतमा बलियो मानिने मारुती सुजुकीलाई उछिन्न नसकेपनि नेपालमा भने हुन्डाई निकै अगाडि पुगिसकेको छ । नेपालमा कोरियन ब्राण्डका कार सन् २००९ देखि नै निरन्तर सफल मानिन्छन् ।

भारतमा उत्पादन थालेको ३० वर्षमा हुन्डाईले धेरै मोडल उत्पादनमा जोड दिएको पाइदैन । एउटै मोडलको लामो आयु हुनेगरी कार उत्पादन गर्दै आएको छ । त्यसैले यसबीचमा कम्पनीले ल्याएका मोडलहरुको बारेमा यहाँ चर्चा गर्न लागिएको हो ।

१. सेन्ट्रो : हुन्डाईले भारतमा उत्पादन गरेको पहिलो मोडल सेन्ट्रो ह्याचव्याक कार हो । टल ह्याच डिजाइनमा उपलब्ध सेन्ट्रो हुन्डाई इन्डियाको सर्वाधिक सफल मध्येको एक मोडल हो ।

नेपाली बजारमा पनि उपलब्ध भएदेखि नै सेन्ट्रो निकै सफल भएको थियो । कम्पनीले सेन्ट्रो ह्याचव्याक सन् १९९८ बाट उत्पादन थालेको थियो । त्यसपछि सन् २००३ मा फेसलिफ्ट सेन्ट्रो आएको थियो ।

दक्षिण एशियाली अधिकांश बजारमा सफल सेन्ट्रोको नयाँ जेनेरेशन मोडल सन् २०१८ मा आयो । करिब ४ वर्ष बिक्री गरेपछि सन् २०२२ मा कम्पनीले सेन्ट्रो मोडलको उत्पादन बन्द ग¥यो ।

२. हुन्डाई एसेन्ट/भर्ना : सुरुमा बजारमा ल्याउँदा एसेन्ट नामबाट आएको सेडान कर अहिले भर्ना नामबाट बिक्री हुँदै आएको छ । सन् १९९९ बाट उत्पादन सुरु भएको एसेन्ट हुन्डाईले भारतमा उत्पादन गरेको पहिलो सेडान कार हो ।

कम्पनीले सन् २००६ मा एसेन्टको सेकेन्ड जेनेरेसन मोडल ल्यायो । हुन्डाईले यसलाई भर्ना नामबाट बजारमा ल्याएको हो । अहिले पनि सेडान सेग्मेन्टमा भर्ना निकै राम्रो मोडल मानिन्छ । नेपालमा भने अहिले सेडान कारको बजार खासै छैन । सन् २०२३ मा भर्नाको चौथो जेनेरेस बजारमा आएको थियो । अहिले त्यही भर्ना भारतमा बिक्री हुँदै आएको छ ।

३. आई १० : सन् २००७ मा हुन्डाई मोटर्स इन्डियाले आई-१० ह्याचव्याक बजारमा ल्यायो । यसले पनि निकै ठूलो सफलता पायो । नेपालमा पनि सर्वाधिक सफल ह्याचव्याक कारमा आई-१० पर्छ ।

बजारमा आएदेखि नै आई-१० ह्याचव्याक भारतमा मात्रै वार्षिक १ लाख यूनिट माथि बिक्री हुँदै आएको छ । सुरुमा आई-१० नामबाट आएको सानो पारिवारीक कारलाई क्रमिक रुपमा ग्राण्ड आई-१० र ग्राण्ड आई-१० नियोस नामबाट बजारमा ल्याइयो ।

नेपालमा पेट्रोल ह्याचव्याक खोज्नेको पहिलो रोजाईमा अहिले पनि आई-१० पर्दै आएको छ । समय क्रमसँगै हुन्डाईले आई-१० लाई परिमार्जन गर्दै आएको देखिन्छ ।

४. आई-२० : हुन्डाईले आई-१० को सफलतापछि सन् २००८ बाट भारतमा उत्पादन भएको प्रिमियम ह्याचव्याक कार आई-२० हो । सुरुमै दुई पेट्रोल र एक डिजेल इन्जिन अप्सनमा आएको आई-२० दुई फरक डिजाइनमा उपलब्ध थियो ।

आई-२० इलाइट ह्याचब्याक कार थियो । आई २० एक्टीभ भने क्रसओभर मोडल थियो । नेपालमा आई-२० भन्दा आई-२० एक्टीभ सफल मोडल थियो । विभिन्न चरण पारगर्दै अहिले पनि आई-२० भारतमा राम्रो बिक्री हुँदै आएको मोडल हो ।

५. हुन्डाई एक्सेन्ट : कोरियन निर्माताले कम्प्याक्ट सेडान सेग्मेन्टमा ल्याएको एक्सेन्ट २०१४ बाट बजारमा आएको थियो । भारतमा राम्रो ब्यापार गर्न सफल एक्सेन्ट मोडल नेपालमा भने औषत ब्यापार गरेको मोडल हो ।

नयाँ जेनेरेशन मोडलको रुपमा आउदा अउरा नामबाट आएको सेडानले पनि नेपालमा धेरै राम्रो व्यापर गर्न सकेन । अहिले यो मोडल लगभग नेपालमा बिक्री बन्द जस्तै छ । भारतमा भने राम्रै संख्यामा बिक्री हुँदै आएको छ ।

६. क्रेटा एसयूभी : हुन्डाईले भारतमा उत्पादन गरेको सर्वाधिक सफल मोडल क्रेटा हो । सन् २०१५ बाट बजारमा आएको क्रेटा २०१८ मा फेसलिफ्ट भएको थियो ।

सन् २०२० मा सेकेन्ड जेनेरेशनमा आएको क्रेटालाई २०२४ मा फेसलिफ्ट गरेको थियो । सेकेन्ड जेनेरेशन फेसलिफ्ट क्रेटामा आधारित रहेर हुन्डाईको पहिलो भारतमा उत्पादन भएको ईभी पनि यही मोडल बन्यो । नेपालमा सर्वाधिक सफल मोडलको सूचीमा सबैभन्दा माथि क्रेटाकै नाम आउँछ ।

७. हुन्डाई भेन्यू : हुन्डाई भेन्यू सब फोर मिटर एसयूभी हो । सन् २०१९ मा पहिलो पटक बजारमा आएको भेन्यूको सेकेन्ड जेनेरेशन २०२५ मा सार्वजनिक भयो । पहिलो जेनेरेशन भेन्यूले नेपाली उपभोक्ताको मन जित्न सफल भएको थियो ।

सेकेन्ड जेनेरेशन भेन्यू अहिलेसम्म नेपालमा बिक्री सुरु भएको छैन । सम्भवत नेपाली बजारमा अबको दुई महिना भित्रै नयाँ जेनेरेशन भेन्यूको बिक्री सुरु हुनेछ ।

नेपालमा फरक पहिचान

हुन्डाई नेपालमा फरक पहिचान स्थापित गर्न सफल ब्राण्ड हो । नेपालमा पहिलो चार पाङ्ग्रे साधनको एसेम्बलिङ उद्योग पनि हुन्डाईकै छ । हुन्डाई क्रेटा र भेन्यू अहिले नेपालमै उत्पादन हुन्छन् ।

लक्ष्मी मोटर कर्पोरेशनले उत्पादन गर्ने हुन्डाईका कार लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आएको छ । भारत बाहिर उत्पादन भएका ठूला र प्रिमियम मोडल पनि कम्पनीले बिक्रीको लागि उपलब्ध गराएको छ ।

बलियो बिक्री नेटवर्क, निकै ब्यवस्थित सर्भिस सुविधा र उच्च रिसेल भ्यालूका कारण हुन्डाईले नेपालमा सफलता पाएको हो ।


Back_to_top