काठमाडौं । भारतमा सफल दुई ठूला ब्राण्ड सुजुकी र हुन्डाईले ईभीमा पनि कडा प्रतिस्पर्धा गर्ने देखिएको छ । जापानी ब्राण्ड सुजुकी र कोरियन ब्राण्ड हुन्डाई भारतका दुई ठूला कार निर्माता हुन् ।
भारतीय बजार ईभीमा केन्द्रित नभएको कारण यी दुबै ब्राण्डले भारतमा ईभी उत्पादन थालेका थिएनन् । तर, भारतीय ब्राण्ड टाटा मोटर्सले आफ्ना अधिकांश मोडल ईभीमा ल्याइसक्दा बल्ल यी दुबै ब्राण्ड ईभीमा केन्द्रित हुन थालेका हुन् ।
दुबै ब्राण्डले एउटै सेग्मेन्टमा नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने भएका छन् । उनिहरुले आगामी अक्टोबरमा आफ्नो भारतीय उत्पादन बजारमा सार्वजनिक गर्ने तयारी थालेका हुन् ।
सुजुकीले ईभीएक्स कन्सेप्टमा आधारित इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने छ । उसले ल्याउने एसयूभी साइजमा ग्राण्ड भिटारा बराबरको हुनेछ । हुन्डाईले भने आफ्नो सर्वाधिक सफल मोडल क्रेटाको इलेक्ट्रीक भर्सन बजारमा ल्याउने छ ।
सुजुकी ईभीएक्स विल्कुलै नयाँ मोडल हो । हुन्डाईले पनि क्रेटामा ब्यापक परिमार्जनसहित इलेक्ट्रीक मोडल भारतमा उत्पादन गर्न लागेको छ । अहिले यी दुबै मोडल विश्वका विभिन्न भागमा परिक्षण भइरहेका छन् ।
मोटर पावर र ब्याट्री
दुबै ब्राण्डले दुई मोटर अप्सनमा आफ्नो एसयूभी ल्याउने अनुमान गरिएको छ । साथै, क्रेटामा एउटा मात्रै ब्याट्री अप्सन उपलब्ध हुनेछ भने सुजुकीले स्टायडर्ड रेन्ज र लङ रेन्ज मोडल ल्याउने छ ।

दुबैले १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरलाई वेस लाइन बनाएका छन् । त्योभन्दा माथिल्लो पावरमा पनि दुबै मोडल उपलब्ध हुनेछ ।
ठ्याक्कै निर्माताहरुले ब्याट्री पावरको विषयमा जानकारी नदिएपनि ४५ किलोवाट आवर क्षमताको ब्याट्री क्रेटामा उपलब्ध हुनेछ । साथै सुजुकीले पनि ४८ किलोवाट र ६० किलोवाट आवरको ब्याट्री प्याक प्रयोग गर्ने बताइएको छ ।
नेपालमा कस्तो प्रभाव ?
दुई वर्ष अघिसम्म नेपाली बजारमा कडा प्रतिस्पर्धा गरिरहेका यी दुई ब्राण्ड अहिले बिक्रीको आधारमा केही पछि परेका छन् । त्यसमा पनि सुजुकी अझै पछि परेको देखिन्छ । विद्युतीय कारको माग उच्च हुनु र सुजुकीसँग ईभी नहुनुले पनि उसलाई बजार हिस्सा जोगाउन कठिन भयो ।

हुन्डाईले कोना र आयोनीक-५ बिक्री गर्दै आएको भएपनि त्यति धेरै राम्रो बिक्री पाउन सकेको छैन । त्यसैले अहिले चल्तीको बजार सेग्मेन्ट ५० लाखदेखि ६५ लाख भित्र बल्की एसयूभी खोज्ने ग्राहकको चाहना पुरा गर्न दुबै ब्राण्डले विद्युतीय एसयूभी ल्याउन लागेका छन् ।
एउटै सेग्मेन्टमा आउने यी दुई इलेक्ट्रीक एसयूभीको सहायताले यी दुई कम्पनीले बजारमा कम्ब्याक गर्ने मात्र छैनन् । अहिले बजारमा एकछत्र राज गरिरहेका मोडलहरुको लागि पनि चुनौती बन्ने देखिन्छ ।


