आई २० एक्टीभको सट्टा हुन्डाइले नयाँ क्रसओभर ‘बायोन’ ल्याउने

काठमाडौं । हुन्डाई मोटर्सले आई २० एक्टीभमा नै आधारित रहेर चाँडै नयाँ क्रसओभर एसयूभी ल्याउने भएको छ । यो एसयूभी हुन्डाईको भेन्यूभन्दा कम मूल्यमा आउने अनुमान गरिएको छ ।

हुन्डाईले विश्वका सहरहरुको नामबाट आफ्नो मोडलको नाम राख्ने परम्परा अनुसार यस एसयूभीको नाम पनि फ्रान्सको दक्षिण पश्चिम सहर बायोनबाट राख्न लागेको हो ।

कम्पनीले हालै नयाँ एसयूभी बायोनको टिजर सार्वजनिक गरेको छ । टिजरमा देखिए अनुसार यो कार हुन्डाईको स्पोर्टीनेस डिजाइन फिलसोफीमा आधारित सफा हाइटेक लुक्समा देखिएको छ । हुन्डाईको यूरोपियन पोर्टफोलीयोमा यो कार कोनाभन्दा सस्तो मूल्यमा उपलब्ध रहने छ ।

विभिन्न रिपोर्ट अनुसार बायोन हुन्डाई आई २० को प्ल्याटफर्ममा आधारित रहने छ । यसको पावरट्रेन, ड्यासबोर्डको डिजाइन लगाएत अन्य कम्पोनेन्टहरु आई २० मा देखिए जस्तै हुनेछन् । तर, यसको हेडलाइट सेटअप तथा ग्रिल भने बिल्कुल फरक प्रकारको हुनेछ ।

यसमा हुन्डाईको नयाँ जेनेरेशन क्रेटाको हेडलाइट सेटअप रहने छ । हुन्डाईले बायोनलाई आक्रामक देखाउन यसमा रुफरेल तथा हेभी बडी क्लाडीङको प्रयोग गरेको छ । यसको पछाडि फरक खालको टेलल्याम्प आकर्षणको केन्द्र हुने अनुभव गरिएको छ ।

नेपालमा यो एसयूभी आउने छ वा आउने छैन भन्ने अहिल्यै अनुमान लगाउन कठिन छ । तर, आई २० एक्टीभले नेपालमा पाएको बजारलाई आधार मान्ने हो भने यसलाई लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल ल्याउने छ ।


Back_to_top