काठमाडौं । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् । भेटमा कोरिया र नेपालको दौत्यसम्बन्ध स्थापनाको ५० वर्ष पुग्न लागेको विषयमा आपसी सहयोग बिस्तारको विषयमा कुरा भएको थियो ।
भेटमा राजदूत थेयङले नेपालले सन् २०२६ भित्र सहश्राब्दी विकास लक्ष्य हासिल गर्नुपर्ने भएका कारण त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयातन बढाउन चाहेको जानकारी दिएका थिए ।
आगामी मे महिनाबाट नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन हुन लागेको भन्दै उनले वार्षिक ४ हजार ५०० गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । त्यसका लागि केही कानूनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन अर्थमन्त्रीसँग थेयङको आग्रह थियो ।
नेपालको पूर्वधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा अर्थमन्त्री पुनले कोरिया सरकारलाई धन्यवाद दिए ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वधार गरी हाल निर्माणाधीन ११ विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी दिए ।
शो अवसरमा पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि प्रेरित गरिदिन राजदूत थेयङलाई आग्रह गरे । पुनले ठूलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरु स्पष्ट गरेकाले त्यसका लागि आवश्यक नीतिगत र कानूनी अड्चन हटाउन लागिएको जानकारी दिए ।

