हुन्डाईका २१ चार्जिङ स्टेशन संचालनमा, थप स्थानमा बनाउने तयारी

काठमाडौं । विश्वकै ५ औं ठूलो कार निर्माता कम्पनी हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले प्रिमियम इलेक्ट्रीक कार नेपालमा ल्याएर पहिलो पाहिला चालेको थियो । कम्पनीले आफ्नो कोना क्रसओभर र आयोनिक ल्याएर नेपाली बजारमा इभी प्रेमीको मन जित्न सफल भएको थियो ।

नेपाली बजार भित्रिएको छोटो समयमा नै यी दुवै मोडलले सकारात्मक समीक्षाका साथ ग्राहकको मन जित्न सफल भएको थियो । ‘अबको अटोमोबाइलको भविष्य विद्युतीय सवारी’ भन्ने नारा नेपालमा मात्रै नभएर विश्वका सबै ठूला कार उत्पादक र अटोक्षेत्रका दिग्गजले नै भनिरहेको समयमा कम्पनी पनि आफ्ना उत्पादनको विक्री र त्यसको लागि आवस्यक पूर्वाधार निर्माण अग्रसर भएको छ ।

नेपाल सरकारले १० वर्षमा पूर्णत विद्युतीय गाडीको विक्री गर्ने लक्ष्य लिएर अघिल्लो बजेटले बढाएको करका दरमा परिमार्जन गरेका कारण अहिले अहिले पुन मूल्य घटाएकाले विद्युतीय गाडीको बजार विस्तार हुने अनुमान सुरु भएको छ । यसलाई आफ्नो पक्षमा पार्न हुन्डाईले पनि रणनीतिक योजना तयार पारेको जनाएको छ ।

कम्पनीले अहिले विक्री गर्दै आएको कोना क्रसओभर एसयूभी दुई व्याट्री अप्सनमा उपलब्ध रहेको छ । कम्पनीले ३९.२ किलोवाट आवरको व्याट्री र १०० किलोवाट क्षमताको मोटर जडान भएको कोनाको मूल्य ५६ लाख ९६ हजार निर्धारण गरेको छ भने १५० किलोवाट क्षमताको मोटर र ६४ किलोवाट आवरको व्याट्री रहेको कोनाको मूल्य ७१ लाख ९६ हजार निर्धारण गरेर विक्री सुरु गरेको छ । कम्पनीले आयोनिक सेडानको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

कम्पनीले यी इलेक्ट्रीक गाडी लिएर यात्रा गर्ने ग्राहकलाई लक्षीत गर्दै देशका विभिन्न स्थानमा २१ वटा चार्जिङ स्टेशनहरु स्थापना गरेको छ । कम्पनीले यी स्थानमा हुन्डाईका इलेक्ट्रीक गाडी निःशुल्क चार्जिङ गर्ने व्यवस्था मिलाएको छ । अन्य ब्राण्डका सवारी साधन चार्ज गर्दा भने ग्राहकले रकम तिर्नु पर्ने हुन्छ ।

कम्पनीले काठमाडौंको कुपण्डोल, तिनकुने, पुल्चोक, सिनामंगल, नक्साल र थापाथलीमा चार्जिङ स्टेशन निर्माण गरेको छ । पोखरामा ५ वटा चार्जिङ स्टेशन संचालनमा छन् भने भैरहवा, बुटवल, नेपालगञ्ज, धनगढी, विरगंज, विराटनगर, इटहरी, भरतपुर, विर्तामोडमा संचालन गरिरहेको छ ।

गाडी विक्रीसँगै चार्जिङ स्टेशन निर्माण बढाउनु पर्ने अहिलेको आवश्यकतालाई ध्यानमा राखी थप चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाइरहेको जनाएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।


Back_to_top