काठमाडौं । सन् २०१५ मा पहिलो पटक उत्पादन भएको हुन्डाई क्रेटा निकै सफल एसयूभी हो । सेग्मेन्टमा प्रतिस्पर्धीभन्दा निकै अगाडि रहेको क्रेटा इलेक्ट्रीक भर्सनमा आउने समाचार यसअघि नै बाहिर आएको भएपनि अहिले परिक्षणमा देखिन थालेको छ ।
अहिले बजारमा विक्री भइरहेको क्रेटामा नै इन्जिनको सट्टा ब्याट्री प्याक दिएर यसको परीक्षण भइरहेको तस्वीर बाहिर आएको हो । ८ वर्षमा ९ लाखभन्दा धेरै यूनिट क्रेटा भारतमा मात्रै विक्री भएको छ भने, नेपालमा पनि ८ हजारभन्दा बढी यूनिट क्रेटा सडकमा गुडिरहेको छ ।
टाटा मोटर्सले नेक्सन एसयूभीलाई ईभीमा ल्याएर बजारमा आफ्नो उपस्थिति बलियो बनाइरहेको समयमा हुन्डाईले पनि सफल मोडल क्रेटाको इलेक्ट्रीक भर्सन परीक्षण सुरु गरेको हो । यसले भारतीय बजारमा ईभी प्रतिस्पर्धा निकै रोचक बन्ने देखिन्छ ।
सम्पूर्ण फिचरहरु कम्बस्चन इन्जिन भएको क्रेटाको जस्तै रहने अनुमान गरिएको नयाँ ईभीको फ्रन्ट ग्रिलभने परिवर्तन भएर आउने अपेक्षा गरिएको छ । साथै, हुन्डाईले अहिले बजारमा विक्री गर्दै आएको कोना इलेक्ट्रीकमा रहेको ३९.२ किलोवाट आवरको ब्याट्री दिएर यसलाई परीक्षण गरिरहेको अनुमान गरिएको छ ।

यदि, कम्पनीले कोनामा रहेको ब्याट्री र मोटर दिएर क्रेटा ल्याउने हो भने यसमा १०० किलोवाट क्षमताको मोटर र ३५० एनएम टर्क पाउन सकिन्छ । यसलाई सिंगल चार्जमा ३०० किलोमिटर माथि गुडाउन सकिने रिपोर्टहरुले अनुमान गरेका छन् ।
हुन्डाईले भारतीय बजारमा उत्पादन भएका भेन्यू र क्रेटा जस्ता आफ्ना सफल मोडलको इलेक्ट्रीक भर्सन तयारी गरिरहेको कारण आगामी दिनमा ईभी बजारमा हुने प्रतिस्पर्धा थप रोचक बन्ने छ ।


