काठमाडौं । सरकारले मोटर पावरको आधारमा कर बढाउनु अघि नेपाल आएको निसान लिफ अहिले पनि बाँकी छ । नेपाल आएको झण्डै एक वर्ष हुन लाग्दासमेत अझै केही यूनिट बाँकी रहेको पायोनियर मोटोकर्पको भनाई छ ।
सरकारले बजेट मार्फत कर बढाउनु अघि नै नेपाल आएको ५० यूनिट मध्ये अझै केही यूनिट गाडी बाँकी रहेको कम्पनीका डेपुटी जनरल मेनेजर ज्ञानेन्द्र चन्द स्वीकार गर्छन् ।
मुख्यत सेडान कार हुनु र ६० लाख माथिको मूल्य भएकै कारण लिफको विक्री राम्रो हुन नसकेको बताउँदै चन्द भन्छन्, ‘नेपालमा ६० लाखभन्दा माथिल्लो मूल्यका गाडी विक्री अत्यन्त न्यून रहेको छ । त्यस्तोमा ईभीमा थुप्रै छनोट भएका कारण हाम्रो विक्री केही स्लो भएको होला । तर, अहिलेको आर्थिक मन्दीमा पनि मासिक ३/४ यूनिट विक्री भइरहेको छ ।’

सरकारले १०० किलोवाट माथिको गाडीमा ३० प्रतिशत भन्सार र अन्तःशुल्कमा ३० प्रतिशत कर लगाउने निर्णय लिएसँगै यसको मूल्य करिब ८५ लाख पुग्ने अवस्था थियो । तर, कम्पनीले बजेट अगाडि ल्याएको कारण यसको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकेर विक्री गरेको हो । यसमा ११० किलोवाट क्षमताको मोटर भएर पनि ६५ लाख मूल्य भएकोले यसलाई २० लाख सस्तो विद्युतीय कार भनिएको हो ।
निसान लिफमा ४० किलोवाट आवरको ब्याट्री छ । उक्त ब्याट्रीलाई फुल चार्जगर्दा ३६३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।


