काठमाडौं । कोरियन निर्माता हुन्डाईले क्रेटा ईभीको भारतमा नै परिक्षण सुरु गरेको छ । कम्पनीले परिक्षण सुरु गरेको ईभीलाई पूर्ण रुपमा ढाकेर सडकमा गुडाईरहेको देखिन्छ ।
परिक्षण भइरहेको क्रेटाको तस्बिर अनुसार कम्पनीले केही दिनअघि सार्वजनिक भएको फेसलिफ्ट क्रेटाकै जस्तो हेडलाइट र टेललाइट दिएको अनुमान गर्न सकिन्छ । तर, यसको फ्रन्ट ग्रिल भने ईभी प्रेरित ग्लोजमा हुनेछ ।
कोना ईभीको जस्तै चार्जिङ पोर्टमा आउने क्रेटा ईभीमा फरक किसिमको ह्वील देख्न सकिन्छ । कम्पनीले यसमा धेरै फिचर फेसलिफ्ट क्रेटाबाट लिनेछ भने स्टेरिङ लगायतका केही फिचर आयोनीक-५ बाट लिने सम्भावना देखिन्छ ।
नयाँ क्रेटामा रहने मोटर साइज र ब्याट्री सम्बन्धी जानकारी यसअघि नै बाहिर आएको थियो । सार्वजनिक भएको विवरण अनुसार हुन्डाई क्रेटा इलेक्ट्रीकमा ४५ किलोवाट आवरको ब्याट्री प्याक रहने छ ।
कम्पनीले आधिकारीक रुपमा नभनेपनि बिभिन्न रिपोर्टहरुका अनुसार क्रेटा ईभीमा रहने ४५ किलोवाट आवर क्षमताको ब्याट्रीले कम्तीमा पनि ३५० किलोमिटर अन रोड रेन्ज प्रदान गर्नेछ ।
हुन्डाई क्रेटा ईभीको प्लेटफर्म भने रेगुलर हुन्डाई आइसीई पावर क्रेटामा केही परिमार्जन गरेर प्रयोग हुनेछ । कम्पनीले यसमा कोनाको जस्तै १०० किलोवाट क्षमताको मोटर दिनेछ । उक्त मोटरले १३८ हर्सपावर र २५५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
कम्पनीले इलेक्ट्रीक क्रेटालाई फ्रन्ट ह्वील ड्राइभ सिस्टममा ल्याउने छ । यसलाई अल ह्वील ड्राइभ अप्सनमा ल्याउने सम्भावना कम रहेको बताइन्छ ।

