टेस्लाले सस्तो ईभी बनाउने, बाहिर आयो उत्पादन मिति

काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार ब्राण्ड टेस्लाले कम मूल्यको इलेक्ट्रीक कार उत्पादन सुरु गर्ने भएको छ । कम्पनीले सन् २०२५ को मध्यबाट बजारमा ल्याउने गरी नयाँ कार उत्पादनको योजना बनाएको हो ।

टेस्लाका सीईओ इलन मस्कले सन् २०२० मा नै कम्पनीले कम मूल्यको विद्युतीय कार खोज्नेको लागि आफुहरुले काम गरिरहेको बताएका थिए । अब भने बजेट कारको उत्पादन जुन, २०२५ बाट गिगा फ्याक्ट्रीमा उत्पादन सुरु हुने समाचार बाहिर आएको हो ।

टेस्लासँग अहिले ३५ हजार डलरभन्दा कम मूल्यको कार छैन । कम्पनीले भारतीय बजारमा प्लान्ट लगाउने र बजेट कार ल्याउने धेरैको अनुमान थियो । तत्कालको लागि भारतीय बजार प्रबेश गर्ने योजना थाँती रहेसँगै कम्पनी चीनमा बजेट कार उत्पादन गर्ने योजना अगाडि बढाएको बताइन्छ ।

टेस्लाले आफ्नो संघाई फ्याक्ट्रीको तेस्रो चरण विस्तार योजना अगाडि बढाइसकेको छ । विस्तारित प्लान्टबाट नयाँ मोडल उत्पादन हुने अनुमान गर्न सकिन्छ ।

टेस्लाले आफ्ना सप्लायरहरुलाई मासिक ४० देखि ५० हजार यूनिट बजेट कारको लागि तयार रहन भनेको छ । कम्पनीले आफ्नो नयाँ आर्किटेक्चर ‘एनभी९एक्स’मा आधारित रहेर थप नयाँ मोडल बजारमा ल्याउन लागेको हो ।

कम्पनीले यसअघि अमेरिकाको टेक्सासमा रहेको प्लान्टबाट कम मूल्यको ईभी उत्पादन गर्ने जनाएको थियो । सम्भवत कम्पनीले आफ्ना सबै प्लान्टबाट नयाँ मोडल उत्पादन गर्नेछ ।


Back_to_top