नेपालमै बन्ने भयो हुन्डाई क्रेटा, आयो ‘टेस्टीङ कीट’

काठमाडौं । लक्ष्मी मोटर कर्पोरेशनले हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी क्रेटा नेपालमै एसेम्बल गर्ने तयारी थालेको छ । कम्पनीले भदौ महिनामा ४ यूनिट सीकेडी (टेस्टीङ कीट) क्रेटा आयात गरेर परीक्षण उत्पादनको तयारी थालेको हो ।

नवपरासीमा ६ महिना अगाडि एसेम्बलीङ प्लान्ट लगाएको हुन्डाईले पहिलो मोडल भेन्यू सब फोर मिटर एसयूभी उत्पादन गरेको थियो । अहिले नेपालमै एसम्बल भएको भेन्यू बजारमा बिक्री वितरण भइरहेको छ । मूल्यका हिसावले पनि उपभोक्तालाई ४ लाख रुपैयाँ हाराहारी फाइदा भएको छ ।

‘हामीले प्लान्ट लगाएपछि नयाँ मोडल त ल्याउनै पर्यो । त्यसैले क्रेटाको परीक्षण कीट ल्याएर काम अगाडि बढाएका हौं । सेफ्टीदेखि धेरै मापनको लागि कोरियन टीम नै नेपाल आएर परीक्षण गर्ने भएको कारण उत्पादन नै सुरु गर्न भने लामै समय लाग्छ’, लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल मेनेजर दिपक थपलियाले मेरोअटोसँग भने ।

उनका अनुसार सन् २०२५ को पहिलो क्वाटरसम्ममा मेड इन नेपाल हुन्डाई क्रेटा बजारमा आउन सक्नेछ । नेपालमा निकै सफल क्रेटा एसयूभी घट्दो पेट्रोल कारको बजारमा पनि निकै सफल मोडल मानिन्छ । दुई महिना अगाडि फेसलिफ्ट क्रेटा नेपाल आएको थियो । दशैंमा राम्रो संख्यामा बिक्री भएको एसयूभीमा क्रेटा पर्छ ।

१.५ लिटर क्षमताको इन्जिनमा उपलब्ध क्रेटा आफ्नो, डिजाइन, पर्फर्मेन्स, रिसेल मूल्य र लक्ष्मी इन्टरकन्टिनेन्टलले दिदै आएको सर्भिसको कारण निकै सफल मानिन्छ । चाँडै क्रेटाको इलेक्ट्रीक भर्सन पनि बजारमा आउँदैछ ।


Back_to_top