चार्जर उत्पादनमा जुट्यो हुन्डाई, पावरफुल चार्जर बनाउने

काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाई मोटर ग्रुपले आफैँ डिसी फास्ट चार्जर बनाउने भएको छ । कम्पनीले ३५० किलोवाट क्षमताको पावर फुल डिसी फास्ट चार्जर उत्पादन गर्ने भएको हो ।

अहिलेसम्म बाहिरबाट चार्जर किन्दै आएको हुन्डाई ग्रुपले अब बाहिरका सप्लायर्सको भर नपरी आफैँ डिसी फास्ट चार्जर उत्पादन गर्न लागेको हो ।

हुन्डाई मोटर ग्रुपको सहायक कम्पनी हुन्डाई केफीको कर्पोरेशनले ३५० किलोवाटको डिसी फास्ट चार्जर उत्पादन गर्न लागेको छ । कम्पनीले मुख्यतया इन्जिन र गियरबक्सका पार्टस् उत्पादन गर्दै आएको छ । अब चार्जरको उत्पादन पनि थाल्न लागेको हो ।

कम्पनीले सन् २०२२ को अक्टोबरमा ‘ब्लुप्लक’को नाममा चार्जर विकास गर्ने घोषणा गरेको थियो । कम्पनीले बनाएको ३५० किलोवाटको डिसी फास्ट चार्जर यसै वर्षको अन्त्यसम्ममा कोरियन बजारमा लन्च हुनेछ ।

हुन्डाई मोटर्सले डिसी फास्ट चार्जरको मूल्यमा कटौती गरी ठूलो स्केलमा उत्पादन गर्नका लागि आफैँ उत्पादन गर्ने भएको हो । हुन्डाईले पनि टेस्लाले जस्तै ईभीका सबै कम्पोनेन्ट आफैँ उत्पादन गर्ने रणनीति बनाएको अनुमान गरिएको छ ।

हुन्डाईले आफ्नो पछिल्ला नयाँ ईभीहरु ८०० भोल्ट आर्किटेक्चरमा उत्पादन गरिरहेको कारण ३५० किलोवाटको चार्जर निकै राम्रो मानिन सुरु भएको छ ।


Back_to_top