तीन दिनपछि विक्री सुरु हुँदै हुन्डाई आई २०, दुई भेरियन्टमा किन्न सकिने

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन हुन्डाई आई–२० आगामी विहिबारबाट विक्री सुरु गर्ने भएको छ । प्रिमियम ह्याचव्याक सेग्मेन्टको आई–२० म्याग्ना र स्पोर्टज् भेरियन्टमा उपलब्ध रहने जनाईएको छ ।

हुन्डाईको सफल एसयूभी क्रेटा र सेडान भर्नाको धेरै फिचर समावेश गरिएको आई–२० पहिलेभन्दा थप स्पोर्टी र ठूलो साइजमा आएको छ । नेपाली बजारमा आई–२० लाई १.२ लिटर पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ ।

कम्पनीले म्याग्ना भेरियन्टको मूल्य ३८ लाख र स्पोर्टज् भेरियन्टको मूल्य ४२ लाख हारहारी राख्ने अनुमान गरिएको छ । बजारमा माग भएको खण्डमा आस्टा भेरियन्ट पनि आउने कम्पनीले जनाएको छ ।

हुन्डाईले आई–२० मा एलइडी प्रजेक्टर हेडल्याम्प र १६ इन्चको डायमण्ड कट अलोय ह्वील दिइएको छ । यसमा बीएमडब्ल्यूको जस्तै सिल्क लुकिङ ग्लास दिइएको छ । पछाडिको भागपनि यसमा निकै स्पोर्टी देखिन्छ । पछाडिको भागमा थुप्रै क्रोम फिनिसिङ दिइएको छ ।

सनरुफ, बोसको स्पीकर, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, व्ल्याक फिनिसिङ इन्टेरियर, नयाँ एसी भेन्ट, क्रेटामा प्रयोग भएको स्टेरिङ ह्वील, वायरलेस चार्जर, ग्लोवबक्स, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल, हुन्डाईको व्ल्यू लिंक कनेक्टेड कार फिचर यसमा उपलब्ध रहेको छ ।

 

यो नयाँ आई २० को सिधा प्रतिस्पर्धा मारुती सुजुकी बलेनो, फक्सवागेन पोलो र टाटा अल्ट्रोजसँग हुनेछ ।


Back_to_top