एक महिनामा नेपाल आएका ५ नयाँ मोडल, डिजाइन र मूल्य मुख्य आकर्षण

काठमाडौं । असार १५ देखि साउन १५ गतेसम्ममा विभिन्न ४ ब्राण्डले नयाँ मोडल नेपाली बजारमा उतारेका छन् । टाटा, हुन्डाई, रेनो र स्कोडाले नयाँ मोडल बजारमा ल्याएका हुन् ।

बजारमा आएका तीन नयाँ मोडल कम्बस्चन इन्जिन भएका हुन् भने एउटा मोडल इलेक्ट्रीक आएको छ । टाटाको चर्चित सब फोर मिटर इलेक्ट्रीक एसयूभी नेक्सनको विक्री सुरु भएको छ । टाटा नेक्सन इभीको सुरुवाती एक्सएम भेरियन्टको मूल्य ३५ लाख ९९ हजार, मिड भेरियन्ट एक्सजेड प्लसको ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्ट एसजेड प्लस लग्जरीको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ । नेक्सनमा ३०.२ किलोवाट आवरको व्याट्री र ९५ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ ।

मूल्यको हिसावले सबैभन्दा कम मूल्यको सब फोर मिटर एसयूभी काइगर पनि नेपालमा असार ३१ गतेबाट विक्री सुरु भएको हो । यसको सुरुवाती भेरियन्ट आरएक्सइको मूल्य २८ लाख ४९ हजार रुपैयाँ रहेको छ । काइगरको टप भेरियन्ट आरएक्सजेड एएमटीको मूल्य ३७ लाख ६९ हजार रुपैयाँ रहेको छ । यसमा १.० लिटर नेचुरल एस्पायर्ड इन्जिन दिइएको छ ।

स्कोडा कुशक नेपाल आएको अर्को नयाँ कम्प्याक्ट एसयूभी हो । स्कोडाले भारतमा उत्पादन गरेको पहिलो कम्प्याक्ट एसयूभी कुशक नेपालमा विभिन्न ३ भेरियन्टमा उपलब्ध रहेको छ । कुशकको मूल्य एक्टिभ एमटी भेरियन्टको ४९ लाख ९० हजार, एम्बिसन एमटीको ५३ लाख ९० हजार, एम्बिसन अटोमेटीकको ५८ लाख ९० हजार, स्टाइल एमटीको ६० लाख ९० हजार र स्टाइल अटोमेटिकको ६५ लाख ९० हार तोकिएको छ । यसमा १.० लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई सान्ता फे पनि एक महिना भित्रै नेपाल ल्याएको नयाँ मोडल हो । पहिलाे पटक पेट्रोल इन्जिनमा आएको शान्ता–फे जिएलएस अटोमेटिक (एटी) भेरियन्टको मूल्य १ करोड ६८ लाख ९६ हजार तोकेर विक्री सुरु गरेको छ । यसमा २.५ लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ ।

भिजी इम्पेक्सले हावल ब्राण्डको कम्प्याक्ट एसयूभी जोलायन पनि नेपाल ल्याएको नयाँ मोडल हो । जोलाइनको सुरुवाती भेरियन्टको मूल्य ५५ लाख ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, यसको म्यानुयलमा हाइ भेरियन्टको मूल्य ६१ लाख ४९ हजार ९९९ रुपैयाँ र अटोमेटिक भेरियन्टको ६५ लाख ४९ हजार ९९९ रुपैयाँ कायम गरेर विक्री सुरु गरेको हो ।

जोलायनमा १.५ लिटर टर्बो इन्जिनमा उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम १४९ पीएस पावर र २२० एनएम टर्क प्रदान गर्छ ।


Back_to_top