ईभी उत्पादनमा २० अर्ब लगानी थप्दै हुन्डाई

काठमाडौं । हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतमा सवारी उत्पादनका लागि २० अर्ब भारतीय रुपैयाँ लगानी थप गर्ने घोषणा गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रीक साधन विकास र उत्पादन गर्न लगानी थप गर्ने भएको हो ।

पछिल्लो समयमा दक्षिण कोरियाली अटो कम्पनीले भारतको तमिलनाडुलाई विद्युतीय सवारीसाधन उत्पादन गर्ने केन्द्रको रूपमा स्थापित गरेको छ । यहाँबाट कम्पनीले वार्षिक १ लाख ७८ हजार युनिट विद्युतीय सवारीसाधन उत्पादन गर्ने जनाएको हो ।

हुन्डाईले भारतमा चार्जिङ पूर्वाधार निर्माणमा पनि तिव्रता दिने तयारी गरिरहेको छ । कम्पनीले आगामी पाँच वर्षमा १०० वटा ईभी चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य बनाएको हो ।

त्यसैगरी, हुन्डाईले भारतमा रहेको आफ्नो श्रीपेरुमबुदुर प्लान्टबाट वार्षिक ८ लाख ५ हजार यूनिट कार उत्पादन गर्न सक्नेगरी क्षमता विस्तार गर्दैछ । क्षमता वृद्धिपछि विद्युतीय र पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन लन्च गर्ने जनाएको छ ।

अमेरिकी कम्पनी जनरल मोटर्सको प्लान्ट खरिद गरेर दक्षिण एशियाली बजारमा तिब्र बजार विस्तारको लक्ष्य बनाएको हुन्डाईले नयाँ उत्पादन बजारमा ल्याउने क्रम जारी राखेको छ । कम्पनीले आगामी महिनामा नयाँ माइक्रो एसयूभी एक्सटर सार्वजनिक गर्ने तयारी गरेको छ ।


Back_to_top