मन्दीको चपेटामा परेका ३ मोटरसाइकल, बजारमा आउन थप समय लाग्ने

काठमाडौं । विगत २२ महिनादेखि बजारमा आएको आर्थिक संकटले मानिसको खर्च गर्न क्षमतामा राह्रस आएको छ ।

सन् २०२१ मा करिब ३ लाख ५० हजार यूनिट हाराहारी मोटरसाइकल र स्कुटर आयात भएकोमा चालु आबमा १ लाख यूनिट मात्रै आयात हुने देखिन्छ । चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक हेर्दा ६० देखि ७० प्रतिशतसम्मले आयात घट्ने अनुमान गर्न सकिन्छ ।

तरलता अभावको कारण वित्तिय संस्थाले लगानी बन्द गरेसँगै अटोमोवाइल ब्यवसायमा गिरावट सुरु भएको थियो । त्यसमा महंगो ब्याजदर र सवारीसाधनको बढ्दो मूल्यले प्रभाव पारेको हो ।

सुस्त आर्थिक गतिविधि भएको कारण नेपाल ल्याउन ५/६ महिनाअघि तयारी गरेका नयाँ मोटरसाइकल अझै आउन सकेको छैन । विशेषगरी बजाज, टीभीएस र सुजुकीले नेपाल ल्याउने योजना बनाएका नयाँ मोडलको लन्चिङ तत्काल नगर्ने मनस्थिति बनाएका छन् ।

बजाजले पल्सर १५० को नयाँ भर्सन ‘पी १५०’ सार्वजनिक गर्ने तयारी थालेको भएपनि घट्दो व्यापार र ग्राहकले नयाँ मोटरसाइकल प्रति चासो नदेखाएको भन्दै अझै २ महिना नल्याउने योजना बनाएको छ । सम्भवत आगामी नाडा अटो शो २०२३ मा ‘पी-१५०’ मोडल नेपाल आउने छ । नाडा अटोशो भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ ।

अघिल्लो नाडा अटो शो २०२२ मा सार्वजनिक गर्ने तयारी थालेपनि साउनदेखि लगाइएको आयात प्रतिवन्धले भि-स्ट्रोम २५० एड्भेन्चर मोडललाई रोकेको थियो । पुसबाट आयात खुल्ला भएपनि बजार सुस्त भएकै कारण कम्पनीले आयात गरिरहेको छैन ।

सुजुकीको आधिकारीक विक्रेता भिजी सुजुकीले एड्भेन्चर मोटरसाइकल भि–स्ट्रोम २५० आगामी दशैंसम्ममा बजारमा ल्याउने लक्ष्य राखेको छ । निकै स्टाइलिस डिजाइन रहेको सुजुकी भी स्ट्रोम कम्पनीको ग्लोवल मोडल हो ।

त्यस्तै, टीभीएसको बहुप्रतिक्षित मोटरसाइकल रोनीन नेपाली बजारमा परीक्षण सफल भएर सार्वजनिक गर्ने तयारीमा छ । प्रोडक्ट तयार भएपनि बजारमा चहलपहल नहुँदा कम्पनीले सार्वजनिक गर्ने मिति अहिलेसम्म तय नगरेको हो । सम्भवत रोनीन पनि नाडा अटो शो २०२३ मा नै सार्वजनिक हुनेछ ।


Back_to_top