नेपालमा विक्री हुने चर्चित ४ एसयूभी ईभीमा आउने

काठमाडौं । विद्युतीय सवारीसाधनको माग उच्च भएसँगै विभिन्न कम्पनीले विक्री गर्दै आएका पेट्रोलियम पदार्थबाट चल्ने एसयूभीलाई नै ईभीमा ल्याउन सुरु भएको छ ।

भारतीय ब्राण्ड टाटाले आफ्नो नेक्सनलाई ईभीमा ल्याएसँगै विद्युतीय बनाउने बाटोमा कम्पनीहरु लागेका हुन् । टाटाले नेक्सनपछि टिगोर र टियागो जस्ता मोडललाई ईभीमा ल्याइसेको छ । कम्पनीले चाँडै अन्य मोडललाई पनि ईभीमा ल्याउने भएको हो ।

टाटालाई पच्छाउँदै सिट्रोनले भारतमा सीथ्री मोडल ईभीमा ल्याएको छ भने ब्यापक परिमार्जनसँगै एक्सयूभी ३०० मा आधारित एक्सयूभी ४०० महिन्द्राले ल्याएको छ । यी मोडलले भारतमा राम्रै संख्यामा ग्राहक पनि पाउँदै आएका छन् ।

भारतमा रहेका गाडी उत्पादक बीच ब्याट्री र मोटरको संयोजनसँगै फ्रन्ट फेसियामा केहि परिमार्जन गरेर ईभी लन्च गर्ने ट्रेन्ड नै चलिरहेको छ । यस्तोमा अहिले नेपालमा विक्रीको लागि उपलब्ध मोडलको आउँदै गरेको ईभीको विषयमा यहाँ जानकारी प्रस्तुत गरेका छौं ।

टाटा एच फाइभ/सफारी

नेपालमा एच फाइभको नामबाट विक्री वितरण हुने एसयूभीलाई टाटा मोटर्सले ‘अटो एक्स्पो २०२३’ मा ह्यारीयर इलेक्ट्रीक नामबाट प्रदर्शनी गरेको थियो । अहिलेको एच फाइभको तुलनामा परिमार्जन सहित आउने मोडलको चर्चा बढी रहेको छ ।

सन् २०२४ बाट बिक्री गर्ने योजना अनुसार टाटाले ह्यारीयर ईभी कन्सेप्ट देखाएको हो । अहिले बिक्री हुँदै आएको ह्यारीयरमा ईभी स्टाइलको ग्रिल प्रयोग गरेर अटो एक्स्पो २०२३ मा देखाइएको थियो ।

कम्पनीले सिंगल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिनेगरी ह्यारीयर ईभी ल्याउने अनुमान गरिएको छ । त्यसको लागि यसमा ६० देखि ८० किलोवाट आवरको ब्याट्री रहने बताइन्छ ।

हुन्डाई क्रेटा

टाटाले थुप्रै मोडल ईभीमा ल्याइसक्दा पनि हुन्डाईले एउटै कम्बस्चन इन्जिन भएको गाडी ईभीमा ल्याउन सकेको छैन । कम्पनीले अहिले बिक्री गर्दै आएको सर्वाधिक सफल मोडल क्रेटाको ईभी परीक्षण गरिरहेको तस्विर बाहिर आएका छन् ।

अहिले बजारमा विक्री भइरहेको क्रेटामा नै इन्जिनको सट्टा ब्याट्री प्याक दिएर यसको परीक्षण भइरहेको तस्वीर बाहिर आएको हो । सम्पूर्ण फिचरहरु कम्बस्चन इन्जिन भएको क्रेटाको जस्तै रहने अनुमान गरिएको नयाँ ईभीको फ्रन्ट ग्रिल भने परिवर्तन भएर आउने अपेक्षा गर्न सकिन्छ ।

हुन्डाईले अहिले बजारमा बिक्री गर्दै आएको कोना इलेक्ट्रीकमा रहेको ३९.२ किलोवाट आवरको ब्याट्री दिएर यसलाई परीक्षण गरिरहेको अनुमान गरिएको छ ।

कम्पनीले कोनामा रहेको ब्याट्री र मोटर दिएर क्रेटा ल्याउने हो भने यसमा १०० किलोवाट क्षमताको मोटर र ३५० एनएम टर्क पाउन सकिन्छ । यसलाई सिंगल चार्जमा ३०० किलोमिटर माथि गुडाउन सकिने रिपोर्टहरुले अनुमान गरेका छन् ।

किया सोनेट

कियाले भारतमा उत्पादन गरेको सब फोर मिटर एसयूभी सोनेटको इलेक्ट्रीक भर्सन तयारी गरिरहेको समाचार यसअघि नै आएका हुन् । विशेषगरी किया सोनेट र हुन्डाई भेन्यू दुबैलाई हुनेगरी यो मोडलको तयारी भइरहेको छ ।

सन् २०२४ को मध्यसम्ममा बजारमा आउने अनुमान गरिएको सोनेटमा रहने ब्याट्री र मोटरको विषयमा कुनै आधिकारीक जानकारी आएको छैन । टाटा नेक्सन ईभीसँग सिधा प्रतिस्पर्धा गर्नेगरी सोनेट ईभी बजारमा आउने छ ।

महिन्द्रा एक्सयूभी ७००

महिन्द्राले चार महिनाअघि नेपालमा बिक्री सुरु गरेको एक्सयूभी ७०० मोडललाई ईभीमा ल्याउने भएको छ । कम्पनीले यही नामबाट ल्याउँछ वा अलग नामको प्रयोग गरेर ल्याउँछ भन्ने एकिन नभएपनि इलेक्ट्रीक भर्सनमा आउने भने पक्का जस्तै छ ।

कम्पनीले यसमा रहने फिचर, ब्याट्री, मोटर लगायका विषयमा कुनै जानकारी दिएको भने छैन । यद्यपि, सन् २०२४ को अन्त्यसम्ममा एक्सयूभी ७०० को इलेक्ट्रीक भर्सन बजारमा आउने छ ।


Back_to_top