काठमाडौं । एमएडब्लू इन्भेष्टमेन्ट कम्पनीले विभिन्न किसिमका प्यासेन्जर कारमा लगानी गर्ने भएको छ । कम्पनीले अहिले बजारमा उपलब्ध जुनसुकै नयाँ ब्राण्डको गाडीमा ५० प्रतिशत रकम कर्जा लगानी गर्ने भएको हो ।
बैंकिङ सिस्टमबाट हायर पर्चेज कर्जा उपलब्ध हुन नसकिरहेको समयमा एमएडब्लू इन्भेष्टमेन्टले ५० लाखसम्मको गाडी किन्न कर्जा दिने भएको छ । कम्पनीले दिने कर्जाको अवधि ४ देखि ५ वर्षको हुनेछ ।
‘हामी जुनसुकै ब्राण्डका नयाँ र पुराना गाडी किन्न कर्जा दिन्छौं । त्यसको लागि गाडी किन्ने ग्राहकको कागजपत्र दुरुस्त हुनु पर्छ’, कम्पनी स्रोतले भन्यो ।
अहिले कम्पनीले १५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । कम्पनीले सेकेन्ड ह्याण्ड कारमा पनि ५० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ । तर, पुराना ईभी किन्न भने कर्जा नदिने जनाएको छ ।

