काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले भारतमा आगामी ५ वर्ष भित्र ४५ हजार करोड लगानी गर्ने भएको छ । कम्पनीले नयाँ मोडल उत्पादन र ईभीको लागि आवश्यक ईको सिस्टम तयार पार्न उक्त लगानी गर्ने भएको हो ।
हुन्डाईले सार्वजनिक गरेको योजना अनुसार सन् २०३० सम्ममा आफ्नो प्रिमियम ब्राण्ड जेनिससको भारतमा उत्पादनदेखि ईभीमा आक्रमक तरिकाले नयाँ मोडल ल्याउने छ । सन् २०२६ मा सब फोर मिटर सेग्मेन्टमा इलेक्ट्रीक एसयूभी ल्याउने जनाएको छ ।
हुन्डाईले ल्याउने नयाँ सब कम्प्याक्ट एसयूभीको अधिकांश पार्टस भारतमै उत्पादन हुने कम्पनीले जनाएको छ । सन् २०३० सम्म २६ नयाँ मोडल बजारमा आउने कम्पनीको रणनीतिमा सामेल गरिएको हो ।
कम्पनीले क्रेटा ईभीभन्दा तल राखेर बजारमा ल्याउने सानो एसयूभी ‘इन्डिया ईभी एक्सेसेवल फर अल’ स्लोगनसहित बजारमा आउने छ । नयाँ ईभी इन्डियाको बजारलाई ध्यानमा राखेर डिजाइन र विकास गरिने कम्पनीको भनाइ छ ।
हुन्डाईले ल्याउने नयाँ ईभी ४ मिटर लामो हुने भएको कारण टाटा नेक्सन ईभी, महिन्द्रा थ्रीएक्सओ ईभी जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ । कम्पनीले दुई ब्याट्री अप्सनमा ल्याउने नयाँ एसयूभीमा रहने ब्याट्री साइजको बारेमा कुनै जानकारी दिएको छैन ।
हुन्डाईको नयाँ ईभीमा लेवल २ एडास फिचर हुनेछ । जसमा अटोनोमस पार्किङ फिचर पनि हुने सम्भावना छ ।

