काठमाडौं । हुन्डाईको इन्ट्री लेभल इलेक्ट्रीक एसयूभी इन्सटरको ‘रग्ड भेरियन्ट’ आउने भएको छ । हुन्डाईले कोरियामा बिक्री गरिरहेको क्यास्परको नयाँ भेरियन्टको तस्बिर बाहिर आएको हो ।
सन् २०२५ को सुरुवात मै नेपाल आउने अनुमान गरिएको इन्सटर ईभी माइक्रो एसयूभी सेग्मेन्टमा टाटा पन्च ईभीसँग प्रतिस्पर्धा गर्ने गरी आउन लागेको हो ।
नयाँ भेरियन्टको इन्सटर निकै स्टाइलिस डिजाइनमा तयार भएको हो । स्पाई सटमा देखिए अनुसार रेगुलर इन्सटरको फ्रन्ट र रियर बम्परमा केही परिमार्जन देख्न पाइन्छ । जसको कारण यसको अप्रोच र डिपार्चर एङ्गल बढ्ने देखिन्छ ।
इन्सटरको वरीपरी नै ठूलो साइजको बडी क्लाइडिङ, ह्वील र ठूलो टायर तथा नयाँ यूनिक डिजाइनको अलोय ह्वील रहेको देखिन्छ । यी फिचरहरुले गर्दा इन्सटर केही अफरोड क्यापाबिलीटी सहित आउने अनुमान गर्न सकिन्छ ।
हुन्डाई इन्सटरको लम्बाई ३८२५ एमएम छ । यसको ह्वीलवेस २५८० एमएम लामो छ । इन्सटरलाई हुन्डाईले दुई ब्याट्री अप्सन र दुई मोटरको साथ बजारमा ल्याएको छ । नेपाल कुन ब्याट्री र मोटरमा आउँछ एकिन जानकारी बाहिर आएको छैन ।
यसको इन्ट्री लेभल भेरियन्टमा ७० किलोवाट क्षमताको फ्रन्ट माउण्टेड मोटर छ । उक्त मोटरलाई इनर्जी दिन ४२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यसको रेन्ज ३०० किलोमिटर रहने छ ।
यसको टप भेरियन्टमा ११३ हर्सपावर दिने ८५ किलोवाटको मोटर छ । टप भेरियन्ट इन्सटरमा ४९ किलोवाट आवरको ब्याट्रीप्याक छ । यसले एक पटकको चार्जमा ३५० किलोमिटर रेन्ज दिनेछ ।

