काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले हाइड्रोजनबाट चल्ने कार देखाएको छ । कम्पनीले इनिटियम नामबाट नयाँ फ्यूलसेल कार सार्वजनिक गरेको हो ।
हुन्डाईले इनिटियम नाम दिनुको मतलव ‘नयाँ सुरुवात’ भन्ने बुझाउन खोजेको हो । विगत २७ वर्षदेखि हाइड्रोजन कार निर्माण र उत्पादनमा खोजहरु गर्दै आएको हुन्डाईले यसलाई नयाँ डिजाइन ल्याङ्गवेज ‘आर्ट अफ स्टील’मा बनाएको छ ।
विभिन्न रिपोर्टका अनुसार हुन्डाईले अब आफ्नो सबै हाइड्रोजन कारको निर्माण आर्ट अफ स्टील डिजाइनमा आधारित रहेर तयार गर्नेछ । अहिले कम्पनीले सार्वजनिक गरेको कन्सेप्ट कारलाई ‘ला अटो शो र अटो ग्वान्झाओ २०२४’मा प्रदर्शनी गर्ने कम्पनीको भनाइ छ । यसको उत्पादन भने २०२५ को पहिलो क्वाटरबाट सुरु हुनेछ ।
सहरी क्षेत्र र एड्भेन्चर यात्रा दुबैको लागि निकै आकर्षक देखिएको इनिटियम विल्कुलै पृथक लाग्छ । यसको बोनेट फ्ल्याट छ । रग्ड डिजाइनको क्लाडिङ, बोल्ड लाइनहरु प्रयोग भएको बडी डिजाइनमा रुफर्याक र लाइटहरुको प्रयोगले एसयूभीलाई निकै यूनिक देखाएको छ ।
हुन्डाईले २१ इन्चको एरोडाइनामिक अलोय ह्वील, निकै स्लीक टेललाइट, क्वाड डट लाइटको प्रयोग गरेकाले पृथक देखिन्छ । ९ वटा एयरब्यागसहित आउने कारमा १५० किलोवाटको मोटर रहनेछ । यसलाई एक पटक रिफिल गरेपछि ६५० किलोमिटरसम्म चलाउन सकिनेछ ।