काठमाडौं । भारतमा दिपावलीको अवसर पारेर कार किन्ने बढ्दा बिक्रीले नयाँ रेकर्ड बनाएको छ । अक्टोबर २०२४ मा ४ लाख ५० हजारभन्दा बढी कार बिक्री भएसँगै नयाँ रेकर्ड बनेको हो ।
अहिलेसम्म बिक्री सार्वजनिक गर्ने कम्पनीहरुमा सबैभन्दा धेरै कार मारुती सुजुकीले १ लाख ७३ हजार २६६ यूनिट कार बिक्री भएको जनाएको छ । उसको निर्यातसहितको उत्पादन २ लाख ६ हजार यूनिट पुगेको हो ।
हुन्डाई मोटर्स इन्डियाले ५५ हजार ५६८ कार भारतमा बिक्री गर्दा निर्यातसहितको उत्पादन ७० हजार यूनिट पुगेको हो । एसयूभी एक्सपर्ट महिन्द्राले ५४ हजार ५०४ यूनिट बिक्री गरेको तथ्यांक सार्वजनिक भएको छ ।
टाटा मोटर्सले ४८ हजार १३१ यूनिट कार उत्पादन र बिक्री गर्दा टोयोटाको बिक्री तथ्यांक भने बाहिर आएको छैन । कियाले २२ हजार ७५३, एमजीले ७ हजार ४५ यूनिट कार बिक्री गरेको जानकारी दिएका छन् ।