काठमाडौं । चिनियाँ ब्राण्डहरुले पछिल्ला महिनामा एकपछि अर्को रेकर्ड उत्पान गरिरहेका छन् । विश्वको सर्वाधिक बिक्री हुने ब्राण्ड टोयोटालाई पच्छाउन थालेको बीवाइडीले अक्टोबर महिनामा ५ लाख ५२६ यूनिट कार उत्पादन गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
विश्वका सबै ब्राण्डहरुको तथ्यांक बाहिर आएको छैन । यस्तोमा सम्भवत अक्टोबर महिनाको उत्पादनमा बीवाइडी टोयोटापछि दास्रो स्थानमा पर्न सक्छ । यसअघि नै जापानी ब्राण्ड होन्डा र निसानलाई पछाडि पारेको बीवाइडीले फोर्डदेखि फक्सवागेनसम्मलाई अक्टोबरको उत्पादन र होलसेल बिक्रीमा पछाडि पारेको अनुमान सहजै लगाउन सकिन्छ ।
सेप्टेम्बरमा ४ लाख १७ हजार यूनिट कार बिक्री गरेको कम्पनीले अक्टोबरमा २० प्रतिशतले उत्पादन वृद्धि गरेको हो । यस वर्षको १० महिनामा कम्पनीले ३२ लाख ३७ हजार यूनिट कार उत्पादन गरेर बिक्री गरिसकेको छ ।
कम्पनीको कार बिक्रीमा प्योर इलेक्ट्रीक भेहिकलको बिक्री खासै बढ्न सकेको छैन । सेप्टेम्बरको तुलनामा अक्टोबरमा प्योर ईभीको बिक्री भने १.६ प्रतिशतले घटेको छ । अब कम्पनीको बिक्रीमा प्योर ईभीको हिस्सा ३७.९ प्रतिशत बाँकी छ । जबकी हाइब्रिड कारको बजार हिस्सा ६२.१ प्रतिशत पुगेको छ ।
जिलीको रफ्तार तिब्र
चिनियाँ अटोमोवाइल जाइन्ट जिलीले पनि न्यू इनर्जी भेहिकलको उत्पादन र बिक्रीमा रफ्तार समातेको छ । कम्पनीले पहिलो पटक एकै महिनामा १ लाख यूनिट इलेक्ट्रीक भेहिकल उत्पादन र बिक्री पुरा गरेको हो ।
अक्टोबर महिनामा जिलीले १ लाख ८ हजार ७२२ यूनिट कार बिक्री गरेको हो । उसले अघिल्लो सेप्टेम्बर महिनाको तुलनामा १९ प्रतिशतले उत्पादन वृद्धि गरेको छ । अघिल्लो वर्षको तुलनामा भने ८३ प्रतिशतले उत्पादन बढेको हो ।
कम्पनीले ग्यालेक्सी सिरिजको बिक्री एक महिनामा ६३ हजार ४९२ यूनिट गरेको छ । ग्यालेक्सी सिरिज प्योर ईभी र हाइब्रिड दुबै अप्सनमा उपलब्ध छ । त्यस्तै उसको जिकर ब्राण्डले २५ हजार ४९ र लिङ एण्ड कोले १९ हजार ९९२ यूनिट न्यू इनर्जी भेहिकल बिक्री गर्न सफल भएको हो ।