आउँदै डल्फीनको प्रतिस्पर्धी इलेक्ट्रीक ह्याचव्याक

काठमाडौं । जीएसीको एवोन ब्राण्डमा नयाँ इलेक्ट्रीक कार आउने भएको छ । चिनियाँ सरकारी कम्पनीले ‘एवाई टु’ नाम राखेर ल्याउने नयाँ ह्याचव्याक कारको प्रतिस्पर्धा बीवाइडी डल्फीनसँग हुनेछ ।

नेपाली बजारमा एवोन वाईको बिक्री गर्दै आएको सिजी मोटर्सले डिसेम्बरमा एवोन भी मोडल ल्याउने तयारी गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु भएसँगै नयाँ ह्याचव्याक कार पनि नेपाल आउने छ ।

जीएसीले यहि नोभेम्बरमा हुने ग्वान्झाओ अटो शोमा नयाँ ह्याचव्याक कार लन्च गर्ने अनुमान गरिएको छ । यसको बिक्री भने सन् २०२५ को सुरुवातबाट हुने बताइएको छ ।

चिनियाँ सरकार कार्यालयमा दर्ता गराइएको तस्बिर अनुसार यसको फ्रन्ट ग्रिल निकै आकर्षक छ । साथै, हेडलाइट र फगलाइट पनि पृथक देखिएको छ । एयर ड्यामको बनोट र नम्बर प्लेट लगाउने स्थान बीचको कम्बीनेसन उत्कृष्ट छ ।

पृथक ह्वील, टेललाइट र बडी प्यानमा तयार भएको ह्याचव्याक कार निकै एरोडाइनामिक डिजाइनमा छ । बीवाइडी डल्फीनसँग यूरोपियन बजारमा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको ‘एवाईटु’ थाइल्याण्डको प्लान्टमा पनि उत्पादन हुनेछ ।

अहिले कारको धेरै विषय बाहिर आएको छैन । यद्यपि, यसलाई १४ हजार डलर हाराहारीमा बिक्री गर्ने रिपोर्ट सार्वजनिक भएको छ । आधुनिक फिचरले सुसज्जित हुने यो कार ‘एइपी’ प्लेटफर्ममा बन्नेछ ।

लिथियम आइरन फस्फेट ब्याट्री रहने कार ४०० भोल्ट आर्किटेक्चरमा उत्पादन हुनेछ । यसको चार्जिङ स्पीड पनि निकै तिब्र हुने बताइएको छ ।


Back_to_top