हुन्डाई आयोनीक-९ दुई ड्राइभिङ सिस्टममा आउने

काठमाडौं । हुन्डाईले आयोनीक-९ बजारमा उतार्ने तयारी गरिरहेको छ । कम्पनीले दक्षिण कोरिया, यूरोपदेखि अमेरिकी क्षेत्रमा समेत परीक्षण गरिरहेको आयोनीक-९ को फिचर लगायतका विषयमा जानकारी बाहिर ल्याउन थालेको हो ।

कम्पनीहरुले गाडी बजारमा उतार्ने एकिन भएपछि यस्ता विवरणहरु क्रमिक रुपमा बाहिर ल्याउने गर्छन् । निकै पृथक डिजाइनमा ल्याउन लागेको आयोनीक-९ दुई ड्राइभिङ सिस्टमको साथ आउने छ । यसलाई रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टमको साथमा कम्पनीले ल्याउने भएको हो ।

हुन्डाईको निकै ठूलो एसयूभीको रुपमा आउने गाडीको मूल्य ५० हजार डलर माथि रहने अनुमान गरिएको छ । मूल्यका विषयमा कम्पनीले कुनै जानकारी बाहिर ल्याएको छैन । आगामी नोभेम्बर २२ बाट सुरु हुने लस एन्जलस अटो शोमा कम्पनीले यसलाई सार्वजनिक गर्ने समाचारहरु बाहिर आएका छन् ।

कोरियन निर्माताले यसको रियर ह्वील ड्राइभ भर्सनमा १६० किलोवाटको इलेक्ट्रीक मोटर दिनेछ । अल ह्वील ड्राइभ भर्सनमा भने २८२ किलोवाटको मोटर रहने छ ।

मोटर जस्तै ब्याट्री साइज पनि दुई फरक प्याकमा रहने छ । रियर ह्वील ड्राइभ मोटरसँग ७६.१ किलोवाट आवर र फोर ह्वील ड्राइभ भर्सनमा ९९.८ किलोवाट आवरको ब्याट्री रहने छ । यो मोटर र ब्याट्री कियाले ईभी-९ मा प्रयोग गर्दै आएको छ ।

हुन्डाई मोटर ग्रुपले किया ईभी-९ जस्तै आयोनीक-९ लाई पनि ईजीएमपी प्लेटफर्ममा तयार पारेको हो ।


Back_to_top