नेपाल आईपुग्यो हुन्डाई कोना इलेक्ट्रीक, यस्तो छ बिक्री गर्ने तयारी र मूल्य

काठमाडौं । दक्षिण कोरियाली मोटर उत्पादक कम्पनी हुन्डाईले उत्पादन गरेको इलेक्ट्रीक एसयूभी कोना नेपाली बजार आएको छ । तर, आधिकारीक बिक्री वितरणको लागि भने करिब १० दिन अझै लाग्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।  

हुन्डाईको नेपालको लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नयाँ एसयूभी कोना नेपाली बजारमा ल्याएको हो । कम्पनीले यही माघको पहिलो साता कोनालाई काठमाडौंमा विशेष कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । 

उच्च क्षमताको ब्याट्री प्याककासाथमा आउने उक्त इलेक्ट्रीक एसयूभीले नेपाली बजारमा किया शोलसँग प्रतिस्पर्धा गर्नेछ । यद्यपि, किया सोलको तुलनामा कोनाको रेन्ज भने धेरै रहनेछ । नेपाली बजारमा आएको कोना ईभीले एक पटकको फुल चार्जमा ३०० देखि ३५० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ । 

कोनाको वेश–भेरियन्टमा दिइएको मोटरले १३३ एचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ ।

कोना इलेक्ट्रीक एसयूभीको टप–स्पीड क्षमता १५५ किलोमिटर प्रतिघन्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड समाउन १० सेकेन्ड समय लगाउनेछ ।

कोना इलेक्ट्रीकमा लिथियमआयन ब्याट्रीको प्रयोग गरिएको छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्न सक्ने छ । साथै, स्ट्याडर्ड एसी चार्जबाट चार्ज गर्ने हो भने ६ घन्टा समय लाग्नेछ ।

हुन्डाईको दाबीअनुसार कारमा ब्याट्री जसरी राखिएको छ, यसले गाडीको बुट स्पेशमा असर गर्ने छैन । एरोडाईनामिक बम्पर र स्पोइलर रहेको यो एसयुभीमा १७ इञ्चका अलोय ह्वील दिइएको छ । 

यसको ड्यास बोर्ड पूर्णतः डिजिटल रहेको छ । हेडअप डिस्प्ले, ८ इञ्च इफोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रीकल्ली एड्जस्टेवल भ्यान्टिलेटेड सिटजस्ता फिचर रहेका छन् । 

क्लाईमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, एक लेन प्रणाली, क्रस ट्राफिक अर्लट, स्वचालित आपतकालीन ब्रेकजस्ता विशेषता रहेको यस एसयूभीलाई यूरो एनक्यापले ५ स्टार रेटिङ प्रदान गरेको छ । 

नेपाली बजारमा यो अत्याधुनिक इलेक्ट्रीक एसयूभीको मूल्य ५५ लाख रुपैयाँ हाराहारीमा रहने अनुमान गरिएको छ । आधिकारीक मूल्यका लागि भने लञ्चिङको समय कुर्नु पर्ने हुन्छ । 


Back_to_top