कम मूल्यका ईभी उत्पादनमा जोड दिँदै हुन्डाई

काठमाडौं । हुन्डाई मोटर्ससँग अहिले नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यको ईभी कोना हो । कोनामा १०० किलोवाट पीकपावर भएको मोटर उपलब्ध भएको कारण मूल्य ६० देखि ६५ लाख भित्र भएको हो ।

होन्डाई विशेषगरी बजेट कार खोज्नेको लागि उपयुक्त ब्राण्ड हो । संसारभर विकासोन्मुख देशहरुमा हुन्डाईका गाडी बढी रुचाइने गरेको तथ्यांकले देखाउँछ । यस्तोमा विद्युतीय गाडीको युगमा प्रबेश गर्ने चरणमा रहेका विकासोन्मुख देशको लागि साना कार बनाउनु पर्ने चुनौती हुन्डाईको सामु रहेको छ ।

हुन्डाईको ठूलो मार्केट मध्येको एक भारतमा बजेट कार नभएसम्म बजार हिस्सा बढाउन सक्ने अवस्था छैन । भारतसँगै नेपाल लगायतका सार्क मुलुकमा हुन्डाईले आफ्नो बजार हिस्सा कायम राख्न होस् वा बढाउन कम मूल्यका ईभी ल्याउनु पर्ने बाध्यता देखिएको छ ।

भारतीय अटो कम्पनी टाटाले आफ्ना सबै साना ह्याचव्याकदेखि सब फोर मिटर एसयूभीसम्म इलेक्ट्रीक भर्सनमा उपलब्ध गराएको कारण अन्य उत्पादक पनि दबाबमा आएका हुन् ।

हुन्डाईको अर्को ठूलो बजार यूरोप हो, त्यहाँ पनि बजेट कारको माग उच्च छ । त्यसैले यूरोप डिभिजनले चाँडै बजेट कार बजारमा ल्याउने योजना अगाडि ल्याएको छ । उक्त योजनामा हुन्डाईले अहिले बजारमा उपलब्ध ह्याचव्याक र कम्प्याक्ट एसयूभीको इलेक्ट्रीक भर्सन बजारमा ल्याउने समाबेस थियो ।

त्यहीक्रममा हुन्डाई आफ्नो सफल ह्याचव्याक आई १० को इलेक्ट्रीक भर्सन ल्याउन लागेको हो । यूरोप र एशियाली बजारमा कम्पनीले ल्याउने नयाँ इलेक्ट्रीक ह्याचव्याकको मूल्य १२ देखि २० हजार डलरसम्म हुने बताइएको छ ।

हुन्डाईले यूरोपियन स्पेक आई १० को कुनै पनि टेक्नीकल डिटेल सार्वजनिक गरेको छैन । कम्पनीले यसलाई सन् २०२३ को अन्त्यसम्ममा बजारमा ल्याउने अनुमान गरिएको छ ।

भारतमा उत्पादन हुने साना र कम मूल्यका ईभी पनि सन् २०२४ भित्रै बजारमा आउने अनुमान गरिएको छ । त्यसको बारे थाहापाउनको लागि आगामी जनवरीमा हुने दिल्ली अटो एक्स्पो २०२३ सम्म कुर्नु पर्ने हुन्छ ।


Back_to_top