अर्को हप्ता ‘ग्लोबल प्रिमियर’ हुँदै हुन्डाई टुसान, नयाँ मोडलको चर्चा चुलिदैँ

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी हुन्डाई मोटर्सले आफ्नो सबैभन्दा सफल एसयूभी टुसानको चौथो जेनेरेशनको टिजर भिडियो सार्वजनिक गरेको छ । उक्त टिजरसँगै कम्पनीले सेप्टेम्बर १५ मा यसको ग्लोबल प्रिमियर गर्ने जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको उक्त टिजरमा अगाडिको ग्रिलमा व्यापक परिवर्तन गरिएको देख्न सकिन्छ । अगाडि जेवेल सेपको नयाँ ग्रिल देखिएको छ भने, पछाडि दुबै व्याक लाइटको बीचमा स्ट्रिप लाइटले जोडेको छ । जसले यो एसयूभीलाई पहिलेभन्दा थप आकर्षक देखाएको छ ।

सेप्टेम्बर १५ मा अफिशियल लञ्च गर्ने भनिएको यो एसयूभीले हुन्डाईलाई एसयुभी सेग्मेन्टमा विश्वव्यापी बजार हिस्सा विस्तार गर्न सहयोग पुग्ने कम्पनीले विश्वास गरेको छ ।

हुन्डाईले पाँच वर्षअघि टुसानको फेसलिफ्ट गरेको थियो । तर, नयाँ जेनेरेशन टुसान पहिलेको भन्दा विलकुल फरक, फ्रेस तथा आधुनिक फिचरहरुले भरिपूर्ण हुने देखिएको छ ।

गत हप्ता सार्वजनिक गरिएको टिजरमा अगाडि र पछाडि आकर्षक लाइट देखाइएको छ । अगाडिको ग्रिलमा दिएको डेटाइम रनिङ लाइटलाई हुन्डाईले ‘प्यारामिट्रीक हिडन लाइट’ नाम दिएकोे छ । ड्यास बोर्डमा पनि आधुनिक थिमको ठूलो साइजको इन्फोटेन्मेन्ट डिस्प्ले सिस्टम देखिएको छ ।

सन् २०१९ मा १ लाख ३७ हजार बिक्री भएको यो मोडललाई परिमार्जन गर्न जरुरी भएको थियो । आफ्नो सर्वाधिक बिक्री हुने मोडलको नयाँ जेनेरेशन बारे थाहा पाउन ग्राहकले सेप्टेम्बर १५ सम्म कुर्नु पर्ने छ ।

हुन्डाई टुसान नेपालमा पनि चर्चित एसयूभीको सूचीमा पर्छ । कुनै समय एकछत्र राज गरेको टुसानको अहिले नेपालमा मूल्य ७४ लाख ९६ हजारदेखि ९८ लाख ९६ हजारसम्म रहेको छ ।


Back_to_top