काठमाडौं । बिएमडब्ल्यू आई थ्रि इलेक्ट्रीक एसयूभीको उत्पादन सुरु भएको ७ वर्ष पुरा भएको छ । बिएमडब्ल्यूले सन् २०१३ मा पहिलो पटक बजारमा उतारेको इलेक्ट्रीक कार आई थ्रिको माग अनुसार उत्पादन हुन नसकेको कम्पनीले जनाएको छ ।
विश्वमा बिद्युतीय कारमा बिएमडब्ल्यू आई थ्रि निसान लिफपछि सर्वाधिक धेरै बिक्री भएको मोडलमा पर्छ । तर, टेस्ला, हुन्डाई, किया र बिवाईडीले आक्रमक बजार बिस्तार गरेकाले आई थ्रि पछि पर्ने देखिएको छ ।
बजारमा आएको ७ वर्ष पुरा गरेको उपलक्ष्यमा कम्पनीले यसको विगत सम्झदै माग अनुसार उत्पादन गर्न नसकेको जनाएको हो । कोभिड १९ को संक्रमण फैलन थालेसँगै यसको उत्पादनमा व्यापक कटौती भएको छ । कम्पनीले २०२० जनवरीदेखि अगष्टसम्ममा १२ हजार ५०० यूनिट मात्र उत्पादन गरेको जनाएको छ ।
कम्पनीले सन् २०१९ मा कुल ४२ हजार २४९ यूनिट आई थ्रि उत्पादन गरेको थियो । कम्पनीले अहिलेसम्म २ लाख २ हजार ३५८ यूनिट आई थ्रि उत्पादन गरेको जनाएको छ ।
‘बजारको माग अनुसार उत्पादन गर्न सक्ने हो भने २०१९ को तुलनामा ठूलो परिमाण बढाउनु पर्ने अवस्था छ । तर, तत्काल यसको उत्पादन व्यापक बढाउन सक्ने अवस्था छैन’, विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीले सन् २०१३ सेप्टेम्बरमा यसलाई बजारमा ल्याउदा यसमा २१.६ किलोवाट आवरको व्याट्री दिएको थियो । त्यसपछि २०१७ मा त्यसलाई बढाएर ३३.२ किलोवाट आवरको व्याट्री प्रयोग गरिएको थियो । अहिले कम्पनीले २०१९ मा अपग्रेड गरेको मोडल बिक्री वितरण भइरहेको छ । यसमा ४४.२ किलोवाट आवरको व्याट्री दिइएको छ ।
यसमा रहेको व्याट्रीबाट फुलचार्जमा २४४ किलोमिटर चलाउन सकिने कम्पनीले जनाएको छ । आधुनिक फिचरले भरिएको बिएमडब्ल्यू आई थ्रिको अन्तर्राष्ट्रिय बजार मूल्य ४४ हजार ४५० अमेरिकी डलर रहेको छ ।

