काठमाडौं । सन् २००७ मा पहिलो पटक नेपाल आएको हुन्डाई आई १० निकै सफल मोडल हो । कोरियन कार निर्माता कम्पनीले भारतीय बजारलाई केन्द्रमा राखेर तयार गरेको आई १० नेपालमा पनि सुरुदेखि नै विक्री हुँदै आएको मोडल हो ।
अटोमोबाइल बजारमा आई १० लाई ‘सेन्ट्रो’को सफलतासँग पनि तुलना गर्ने गरिन्छ । हुन्डाईले सन् १९९८ बाट भारतमा विक्री सुरु गरेको सेन्ट्रोको सफलतालाई कायम राख्दै बजार हिस्सा बढाउन ल्याएको आई १० ले निकै ठूलो सफलता प्राप्त गर्न सफल भएको थियो ।
नेपाली बजारमा ५ हजार यूनिटको विक्री आँकडा पुरा गर्ने पहिलो सिंगल मोडल भनेको आई १० निकै रुचाइएको मोडल हो । आई १० को क्रेजलाई अहिले सेकेन्ड ह्याण्ड बजारमा रहेको मागले पनि दर्शाउँछ । विगत १५ वर्षमा करिब ११ हजार यूनिट हाराहारी आई १० विक्री भएको अनुमान गर्न सकिन्छ ।

अहिले पनि सेकेन्ड ह्याण्ड बजारमा सुरुमा नेपाल आएको आई १० को मूल्य ११ लाखभन्दा माथि रहेको पाइन्छ । भारतमा उत्पादन भएको पहिलो जेनेरेशन आई १० को साइज अहिलेको ग्राण्ड आई १० नियोसभन्दा सानो थियो । त्यसको लम्बाई ३५६५ एमएम, चौडाई १५९५ एमएम, उचाई १५५० एमएम र ह्वीलवेस २३८० एमएम रहेको थियो ।
सुरक्षाको लागि इबीडी सहितको एबीएस फिचर दिइएको आई १० मा १.१ लिटर र १.२ लिटर, फोर सिलिण्डर कप्पा इन्जिन दिइएको थियो । यसमा रहेको १.१ लिटर इन्जिनले ६५.७ हर्सपावर र ९९ एनएम टर्क प्रदान गर्थ्यो । साथै, १.२ लिटर इन्जिनले ७८.९ हर्सपावर र ११२ एनएम टर्क जेनेरेट गर्थ्यो । यी दुबै इन्जिनमा ५ स्पीड म्यानुयल र ४ स्पीड अटोमेटीक गियरबक्स दिइएको थियो ।
भारतमा थुप्रै अवार्ड हात पारेको आई १० ले सन् २००८ मा ‘कार अफ दी इयर’ अवार्ड हात पारेको थियाे। हुन्डाईले यसलाई सन् २०१० पहिलो पटक फेसलिफ्ट गरेको थियो । कम्पनीले यसको फ्रन्ट ग्रिलमा व्यापक परिमार्जन गरेर ल्याएको थियो । हुन्डाईले यी दुबै इन्जिनमा परिवर्तन नगरेपनि भिटीभिटी टेक्नोलोजीको प्रयोग गरेको थियो ।
सेकेन्ड जेनेरेशन

सन् २०१४ मा हुन्डाईले ग्राण्ड आई १० को नामबाट यसलाई बजारमा ल्याएको थियो । ग्राण्ड को अर्थ ठूलो । पहिलेको तुलनामा ठूलो साइज ग्राण्ड आई १० मा थियो । कम्पनीले यसको लम्बाई र उचाई घटाएपनि चौडाईमा ठूलो वृद्धि गरेको थियो । लम्बाई २० एमएम र उचाई ३० एमएमले घटाएर ५५ एमएमले चौडाई बढाइएको थियो । जसको कारण ग्राण्ड आई १० निकै फराकिलो भयो । कम्पनीले यसको ह्वीलवेस पनि ४५ एमएमले बढाएर ड्राइभिङ प्लेजर बढायो ।
गाडीको नाममा ग्रान्ड मात्रै थपिएन यसमा एयरव्याग, पावर विन्डो, पावर स्टेरिङ, इलेक्ट्रीक ओआरभीएम, पार्किङ एसिस्ट, किलेस इन्ट्री, किलेस स्टार्ट/स्टप जस्ता फिचर दियो । जसको कारण ग्राण्ड आई १० ले यूरोपियन एनक्यापमा फोर स्टार रेटिङ पाउन सफल भएको थियो ।
सन् २०१७ मा हुन्डाईले यसको फेसलिफ्ट ल्याएको थियो । यो फेसलिफ्टमा धेरै कुरा परिमार्जन गरिएको थिएन । हुन्डाईले सेकेन्ड जेनेरेशनमा १.२ लिटर कप्पा पेट्रोल र १.१ लिटर सिआरडीआई इन्जिन दिएको थियो ।
थर्ड जेनेरेशन २०२०

हुन्डाईले सन् २००७ मा आई १० बाट सुरु भएको यात्रालाई ग्राण्ड आई १० हुँदै ग्राण्ड आई १० नियोसमा पुर्याएको छ । कम्पनीले १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो र १.२ लिटर सिआरडीआई डिजेल इन्जिन यसमा दिएको छ । तर, नेपालमा अहिले १.२ लिटर नेचुरल्ली एस्पीरेटेड पेट्रोल इन्जिमा मात्रै ग्राण्ड आई १० नियोस उपलब्ध रहेको छ ।

