काठमाडौं । एउटा गाडी किन्ने मानिसले सबैभन्दा धेरै सोच्ने कुरा रेन्ज, चार्जिङ क्षमता, दक्षता र व्यवहारिकता हो । यदि, यी कुरामा गाडी खरो उत्रन सकेन भने उपभोक्ताले अर्को विकल्प खोज्छ ।
नेपाली बजारमा आएका धेरै गाडी फरक प्रकृतिका छन् । केही क्षमता र दक्षतामा अब्बल छन् । केही रेन्ज राम्रो दिन्छन् । केही खराब बाटाहरूको लागि उपयुक्त छन् । तर, सबै कुरा एउटै गाडीमा पाउनै मुस्किल छ ।
लजिकल हिसाबले हेर्दा धेरै कुरामा उत्कृष्ट सावित नहुने तर, इमोसनल हिसाबले धेरैको मन जित्न सफल एसयूभी आइकार भी-२३ नेपाली उपभोक्ताको रोजाइमा परेको छ । यसलाई बाहिरबाट झट्ट हेर्दा नै धेरैको ध्यान खिच्न सफल हुने एसयूभी भन्दा हुन्छ ।
कुनै पनि उपभोक्तालाई यसको रेट्रो अफरोड लुकले लोभ्याउँछ नै । साथै, बक्सी डिजाइन, २१० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स र डिफेन्डर वा जिम्नी जस्ता अफरोड भेहिकलको झल्को मेटाउन यो सफल छ ।
विद्युतीय कार निर्माताले एरोडाइनामिक शब्दलाई नै निकै बोल्ड बनाएका छन् । आइकार भी-२३ को बडी डिजाइन कतै एरोडाइनामिक छैन । लजिकल ईभी एरोडाइनामिक सेप, लो ड्रयाग र स्मुद बडी हुन्छ । तर, आइकार भी-२३ मा फ्ल्याट फ्रन्ट, अपराइट विण्डसिल र बक्सी रियर डिजाइनको साथ तयार भएको छ ।

जे लजिकल मानिएन, आइकारको हकमा त्यही स्ट्रेन्थ बन्यो । माथि उल्लेख भएका फ्ल्याट फ्रन्ट, अपराइट विण्डसिल र बक्सी रियर डिजाइन नै आइकार किन्नेले सबैभन्दा मन पराएको विषय हो । यसले रग्ड पर्सनालिटी दियो र उपभोक्ता इमोसनल भएर आइकार भी-२३ किनेका हुन् ।
फरक अनुभवको लागि उपभोक्ताले आइकार भी-२३ किनेका हुन् भन्दा गलत हुँदैन । जीप रुबिकन किन्न झण्डै ३ करोड खर्च गर्नुपर्छ । जिम्नी अटोमेटिक किन्न पनि ७५ लाख हाराहारी लाग्छ । यस्तोमा ५० लाख मूल्यको आसपासमै किन्न पाइने आइकार भी-२३ ले व्यापार गर्नु स्वभाविक हो ।

अफरोड अनुभव, एड्भेन्चर र पृथक एसयूभीकै कारण दैनिक अफिस र घर गर्नेले पनि यसलाई खरिद गरेका छन् । अर्को कुरा हाडकोर अफरोड क्षमता भएको गाडी नचाहिनेको रोजाइमा पनि भी-२३ परेको देखिन्छ ।
के त्यसो भए इमोसनल गाडी किन्नु नराम्रो हो ?
विल्कुलै होइन । विगतमा पनि नेपालमा बिक्री भएका जिम्नी, रुबिकन, थार, र्याङलर जस्ता मोडल लजिकल होइनन् । यी सबै गाडी इमोसनल हुन् ।

इमोसनल गाडीहरूले ड्राइभिङमा फन, पृथक डिजाइन, चालकको पहिचान र फिलिङ्समा ठूलो भूमिका निर्वाह गरेका हुन्छन् । त्यसैले आइकार किन्नेहरूको इमोसन यहाँ प्रष्टै देखिन्छ ।
कति आयात भयो ?
डिसेम्बर २०२५ बाट नेपालमा आइकार भी-२३ को डेलिभरी सुरू भएको हो । असोजदेखि बुकिङ गरेका उपभोक्ताले मंसिरदेखि गाडी लिन थालेका हुन् । करिब ५ महिनाको पूरा अवधिमा ४०२ युनिट आइकार भी-२३ नेपाल आइसकेको छ ।

मासिक औसत ८० युनिटका दरले बिक्री भइरहेको आइकार भी-२३ को प्रयोगकर्ताको अनुभव पनि निकै राम्रो पाइएको छ । यसका धेरै सन्तुष्ट ग्राहकहरू भेटिन्छन् ।


