कार चढ्न कम्तीमा मासिक ५० हजार कमाइ हुनु पर्ने

काठमाडौं । कार चढ्न कति पैसा आम्दानी हुनेले सक्छन् ? कति मासिक आम्दानी गर्नेलाई कार किन्न बैंक तथा वित्तीय संस्थाले कर्जा दिन्छन् भन्ने विषय आम चासको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अटो कर्जा प्रवाह गर्दा अपनाउनु पर्ने विधिलाई समेटेर कर्जा निर्देशिका जारी गरेको छ । त्यसमा प्रष्ट लेखिएको विषय अटोकर्जा उपभोग गर्ने व्यक्तिको मासिक आम्दानीको ५० प्रतिशत रकमले कर्जाको किस्ता तिर्न पुग्ने हुनुपर्छ ।

अटोकर्जा लिँदा यदि तपाईंको अन्यत्र वा अर्को शिर्षकमा कर्जा छैन भने सहजै कर्जा सुविधा पाउनु हुन्छ । यदि तपाईंले किन्ने कारको मासिक किस्ता २५ हजारसम्म पर्छ भने कमाई मासिक ५० हजार रुपैयाँ हुनुपर्छ ।

अहिले बजारमा राम्रो संख्यामा खरिद बिक्री भइरहेका कारको मूल्य १७ लाखदेखिकै छन् । साना र कम मूल्यका कारहरू अहिले विद्युतीय हुन् । त्यसैले यस्ता कार किन्न धेरै डाउन पेमेन्टको आवश्यकता पर्दैन । यदि १७ लाख पर्ने विद्युतीय कार मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गर्दा मासिक २२ हजार ५०० हाराहारी किस्ता तिर्नु पर्छ ।

होइन, तपाईं पेट्रोल कार किन्दै हुनुहुन्छ भने मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यदि, तपाईंसँग डाउन पेमेन्ट गर्ने पैसा छ भने ३० लाखसम्मका पेट्रोल गाडीको मासिक किस्ता तिर्न ५० हजार मासिक कमाईले पुग्छ ।

कर्जाको लागि के-के चाहिन्छ डकुमेन्ट ?

तपाईं कार किन्ने तयारीमा हुनुहुन्छ भने सबैभन्दा पहिला चाहिने डकुमेन्ट नै मासिक कर तिरेको कमाई खुल्ने कागज पत्र हो । यसको आधारमै बैंकहरूले कति कर्जा दिने भन्ने एकीन गर्छन् ।

यसका अलावा नागरिकता, कर चुक्ता प्रमाणपत्र, फोटो र किन्न चाहेको गाडीको कोटेशन तयार गर्नुपर्छ । अहिले बैंकहरूले एक सातादेखि दुई साता भित्र कर्जा स्वीकृत गरेर डिओ (डेलिभरी अर्डर) दिने गर्छन् ।


Back_to_top