भारतमा एक दर्जन ब्राण्डका ईभी बिक्री हुँदै, यस्तो छ बजार हिस्सा

काठमाडौं । भारतमा ईभीको हिस्सा २.६ प्रतिशत पुगेको छ । सन् २०२२ मा औषत २.१ प्रतिशत बजार हिस्सा रहेको ईभी अप्रिल २०२३ सम्ममा बढेर २.६ प्रतिशत पुगेको हो ।

भारतमा अप्रिल २०२३ मा भएको बिक्री तथ्यांक केलाउँदा ईभीको हिस्सा निकै न्यून रहेको हो । विभिन्न कम्पनीले अप्रिल महिनामा ३ लाख ३१ हजार ५०९ यूनिट कार विक्री गर्दा ईभी भने ५ हजार ८३४ यूनिट मात्रै थियो ।

नेपालमा जसरी टाटा नेक्सन ईभीले एकछत्र बजार लिन सफल भएको छ । त्यसैगरी भारतमा पनि टाटाले एकछत्र राज गरिरहेको छ । भारतीय बजारमा टाटाले नेक्सन, टिगोर र टियागो ईभी बिक्री गर्दै आएको छ ।

अप्रिल महिनामा टाटाले ४ हजार ३९२ यूनिट ईभी विक्री गर्दै कुल ईभीको ७५ प्रतिशत बजार हिस्सा ओटगेको छ । टाटाको पछाडि दोस्रो स्थानमा रहेको महिन्द्राले ५०५ यूनिट सहित ९ प्रतिशत बजार ओगट्न सफल भएको देखिन्छ ।

महिन्द्रालाई पच्छाई रहेको एमजीले अप्रिल महिनामा ३३५ यूनिट इलेक्ट्रीक कार विक्री सहित ६ प्रतिशत बजार लिन सफल भएको छ । अघिल्लो महिना मात्रै सार्वजनिक भएको सिट्रोन सीथ्री इलेक्ट्रीक २२९ यूनिट विक्री भएको छ । सिट्रोन ईभीले ४ प्रतिशत बजार लिन सफल भएको छ ।

बीवाइडीले पनि १५४ यूनिट ईभी विक्री गर्दै ३ प्रतिशत बजार लिँदा अन्य कम्पनीको विक्री १०० यूनिटभन्दा तलै रहेको छ । अन्य कम्पनीमा बीएमडब्लूले ६० यूनिट, हुन्डाईले ५१ यूनिट, कियाले ३४ यूनिट, भोल्भोले ३४ यूनिट, मर्सिडिजले २७ यूनिट र अन्य ब्राण्डले १३ यूनिट बिक्री गरेका छन् । यी सबै ब्राण्डको बजार हिस्सा १ प्रतिशत वा त्योभन्दा कम रहेको छ ।


Back_to_top